यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।
बुधबार राति भएको खेलमा बार्यनले युनाइटेडलाई ४-३ गोलले हराएको हो। पहिलो हाफमा २-० ले अघि रहेको बार्यन खेलको ४९ मिनेटमा रास्मसले गोल गरेर युनाइटेडलाई खेलमा फर्काउन खोजे।
तर ५३ मिनेटमा बार्यनका ह्यारी केनले पेनाल्टीमा गोल गरेर खेल ३-१ को अवस्थामा ल्याए। ८८ मिनेटमा क्यासमिरोले गोल गरेर युनाइटेडलाई ३-२ मा पुर्याए।
तर इन्जुरी समयको दोस्रो मिनेटमै बार्यनले गोल गरेर खेललाई ४-२ को अवस्थामा पुर्यायो। त्यसको तीन मिनेटमा युनाइटेडका क्यासमिरोले गोल गरे।
गएराति नै भएका अन्य खेलमा आर्सनलले पीएसभीलाई ४-० ले हरायो। आरबी साल्जबर्गले बेन्फिकालाई पराजित गर्दा नापोलीले क्लब बुर्गलाई हरायो। यस्तै रियल मड्रिडले युनियन बर्लिनलाई १-० ले हरायो।
गालातासरे र कोपनहेगन, सेभिल्ला र लेन्स तथा रियल सोसिडाड र इन्टर मिलानले बराबरी खेलेका छन्।