×

वीरगञ्ज । वीरगञ्जको अरविन्द उद्योगले आफ्नो उत्पादन बन्द गरेको ५ वर्ष भयो । तर, यो उद्योगको जस्तै उत्पादन अहिले पनि बजारमा सजिलै भेटिन्छ । ती उत्पादन अरविन्द उद्योगका होइनन् । भारतबाट अवैध तरीकाले भित्रिएको नक्कली उत्पादनले बजार ओगटेको हो । नेपालका उद्योग बन्द भएको मौका छोपेर भारतका उद्योगले देख्दा उस्तै लाग्ने नक्कली उत्पादन पठाउने गरेका छन् । 

उद्योग विभागमा ‘टिन्कू सुपारी’ नामक सुर्तीरहित सुगन्धित सुपारी (स्वीट सुपारी) को ट्रेड मार्क अरविन्द उद्योगको नाममा दर्ता छ ।

अरविन्द उद्योगको टिन्कू सुपारीजस्तै देखिने भारतीय स्वीट सुपारी भारतको दिल्लीमा रहेको केएम मार्केटिङको नामबाट उत्पादन भएको देखिन्छ ।

सरकारी नीतिका कारण स्वदेशी उद्योगमा ताला लागेको छ भने भारतबाट नक्कली उत्पादन अवैध रूपमा भित्रिइरहेको छ । भारतबाट तस्करीको माध्यमबाट भित्रिने यस्ता उत्पादनले स्वदेशी बजारमा कब्जा जमाउँदा यहाँका उद्योगका उपकरणमा खिया लागेको उद्योगीको गुनासो छ । 

सरकारको राजस्व नीतिका कारण बाह्य उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि उत्पादन बन्द भएको उद्योग सञ्चालक निरञ्जन अग्रवाल बताउँछन् । पाँच वर्षअघि नै उत्पादन बन्द गरे पनि उद्योग र ट्रेडमार्क भने नवीकरण गराउन नछोडेको उनले बताए । ‘बर्सेनि ३ लाख रुपैयाँ खर्च गरेर नवीकरण गराइरहेको छु । कुनै दिन नीतिमा सुधार आउला भन्ने आसमा नवीकरण गराउन छोडेको छैन,’ सञ्चालक अग्रवालले भने । 

भारतबाट नक्कली उत्पादन भित्रिइरहेको छ । तर, भन्सार कार्यालयहरूसँग यस्तो उत्पादन भित्रिएको तथ्याङ्क छैन । औपचारिक रूपमा कुनै पनि स्वीट सुपारी भित्रिएको तथ्याङ्क नभएको वीरगञ्ज भन्सारका सूचना अधिकारी रामचन्द्र ढकाल बताउँछन् । 

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा आठ किलो मात्र स्वीट सुपारी आयात भएको देखिन्छ । स्वदेशी बजारमा वर्षमा करीब २ हजार टन स्वीट सुपारी खपत हुने अनुमान उद्यमीको छ । 

सरकारले स्वदेशी उत्पादनमा प्रतिकिलो ३ सय ६५ रुपैयाँ अन्त:शुल्क र ४० रुपैयाँ स्वास्थ्य कर लिन्छ । कच्चा पदार्थको रूपमा प्रयोग हुने सुपारीमा किलोको सय रुपैयाँ भन्सार महसुल लाग्छ । 

सरकारले आव २०६९/७० बाट प्रतिकिलो ५० रुपैयाँबाट सुरु गरेको अन्त:शुल्क त्यसयता बढाउँदै आएको हो । राजस्वकै कारण लागत बढी पर्ने र भारतबाट सस्तोमै भित्रिएपछि यताका १७ ओटा उद्योगले उत्पादन बन्द गरेका छन् । तीमध्ये आठ वटाले त उद्योग दर्ता नै खारेज गराइसकेका छन् । अन्यले बर्सेनि नवीकरण गरिरहेका छन् । 

भारतमा स्वीट सुपारीमा ५ प्रतिशत जीएसटी तिरे पुग्छ । स्वदेशी स्वीट सुपारीको मूल्य खुद्रा व्यापारीकहाँ पुग्दा प्रतिप्याकेट १ सय ४५ रुपैयाँ पर्ने उद्योगीले बताए । भारतमा तयार भएको नक्कली उत्पादन ४८ रुपैयाँमा खुद्रा व्यापारीकहाँ उपलब्ध हुने भएपछि अवैध आयात भएको उनीहरूको भनाइ छ । 

भन्सारमा बुझाउनुपर्ने उच्च राजस्वका कारण यस्तो उत्पादन अवैध माध्यमबाट भित्रिएको हो । यसबाट सरकारको राजस्वसमेत गुमिरहेको छ । उच्च दरको राजस्व नीतिका कारण स्वदेशी उद्योगको लगानी र सरकारी राजस्व दुवै डुबेको उद्योगीको भनाइ छ । आर्थिक अभियानबाट ।

Back to top