×

वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकाले १७औँ गाउँ सभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष अनोज चौधरीले गाउँ सभामा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास तथा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बताए ।

प्रस्तुत बजेट अनुसार शिक्षा क्षेत्रको विकासका लागि २ करोड रुपैयाँ, स्वास्थ्य क्षेत्रका लागि १ करोड रुपैयाँ, कृषि विकासका लागि १ करोड ५० लाख रुपैयाँ, भौतिक पूर्वाधार विकासका लागि ५ करोड रुपैयाँ तथा सामाजिक विकासका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

जिराभवानी गाउँपालिका–३ स्थित कृषि तथा पशुपन्छी सेवा केन्द्रको सभा हलमा अध्यक्ष चौधरीको सभापतित्वमा सम्पन्न गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले कर्मचारीहरूलाई सेवाप्रति उत्तरदायी, पारदर्शी र इमानदार बन्न आग्रह गरे । उनले सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा गैरजिम्मेवार व्यवहार गर्ने कर्मचारीमाथि आवश्यक कारबाही गरिने चेतावनी समेत दिए ।

कार्यक्रमका अवसरमा चालु आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गरेका कार्यालय सहयोगी नागेन्द्र चौधरी र श्रीराम पटेललाई सम्मान गरिएको थियो ।

गाउँ सभामा उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्षहरू रामशरण ख्वास, महादेव महतो थारु, सुरज राय थारु, राजेश्वर दास थारु, दारा सिंह राउत थारु, कार्यपालिका सदस्य सरोज चौरसिया तथा वडा सदस्य शङ्कर पटवारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरूले वर्तमान जनप्रतिनिधिहरूको कार्यकालको अन्तिम गाउँसभा भएकाले विगतका उपलब्धि तथा चुनौतीहरूको समीक्षा गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र समग्र विकासका क्षेत्रमा भएका कामको मूल्याङ्कन गर्नुपर्ने धारणा राखे । साथै आगामी दिनमा पनि जनअपेक्षा अनुरूप विकास निर्माणका कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

Back to top