×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । नेपाल र भारतबीच पछिल्लो समय देखिएको गैरभन्सार अवरोधको प्रत्यक्ष असर नेपालको प्रमुख नगदेबाली तथा निर्यातमुखी क्षेत्र चिया उद्योगमा परेको छ। भारतीय पक्षले नेपाली चियाको गुणस्तर परीक्षणसम्बन्धी नयाँ प्रक्रिया लागू गरेपछि चिया निर्यात प्रभावित भएको भन्दै उद्योगी, किसान तथा श्रमिकहरू चिन्तित बनेका छन्।

उद्योगीहरूका अनुसार भारतले वैशाख १८ गतेदेखि नेपाली चियाको गुणस्तर परीक्षणका लागि नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गरेपछि निर्यात प्रक्रिया जटिल बनेको छ। प्रारम्भिक चरणमा प्रत्येक ढुवानीको प्रयोगशाला परीक्षण अनिवार्य गरिएपछि निर्यात करिब तीन सातासम्म प्रभावित भएको थियो। विरोधपछि भारतीय पक्षले ‘र्‍यान्डम स्याम्पलिङ’ प्रणाली अपनाउने जनाएको भए पनि परीक्षण प्रक्रिया अझै सहज हुन नसकेको उद्योगीहरूको गुनासो छ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार चिया क्षेत्रमा जमिनको मूल्यबाहेक ७० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। चिया खेती, प्रशोधन, प्याकेजिङ, भण्डारण तथा निर्यातसँग सम्बन्धित पूर्वाधारमा गरिएको यो लगानी अहिले जोखिममा परेको उनको भनाइ छ।

उद्योगसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा एक लाखभन्दा बढी व्यक्तिको रोजगारी जोडिएको छ। बगानका श्रमिकदेखि प्रशोधन उद्योग, ढुवानी र निर्यात क्षेत्रमा कार्यरत हजारौं परिवारको जीविकोपार्जन चिया उद्योगमै निर्भर रहेको बताइन्छ।

उद्योगीहरूका अनुसार नेपालले भारतीय केरामा विषादीको समस्या देखाउँदै केही वर्षअघि आयातमा कडाइ गरेपछि सुरु भएको विवादको असर अहिले चिया क्षेत्रमा देखिएको छ। भारतले नेपाली चियामाथि गुणस्तर परीक्षणको नाममा गैरभन्सार अवरोध खडा गरेर त्यसको प्रत्यक्ष प्रभाव नेपाली उद्योगमाथि पारेको आरोप उद्योगीहरूको छ।

इलामको सूर्योदय टी प्रोडक्ट एसोसिएसनका महासचिव गोपाल कट्टेलका अनुसार इलाम र झापाका करिब १०० उद्योगले दैनिक औसत पाँच लाख किलो हरियो चिया पत्ती प्रशोधन गर्दै आएका थिए। तर निर्यातमा अवरोध आएपछि किसानले उत्पादन गरेको हरियो पत्ती बिक्री गर्न कठिनाइ भएको छ।

तथ्यांकअनुसार इलामका ६५ वटा अर्थोडक्स चिया उद्योग र झापाका ३० वटा सीटीसी उद्योगसहित ९५ भन्दा बढी उद्योग प्रभावित भएका छन्। हाल उद्योगहरूको गोदाममा करिब १२ लाख किलो तयारी चिया मौज्दात रहेको बताइएको छ।

नेपालमा करिब १५० वर्ष पुरानो इतिहास बोकेको चिया खेती अहिले इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरसम्म विस्तार भएको छ। चिया तथा कफी विकास बोर्डका अनुसार देशभर ३० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती भइरहेको छ। झापामा मुख्यतः सीटीसी चिया उत्पादन हुने गरेको छ भने पहाडी जिल्लाहरूमा उत्पादन हुने अर्थोडक्स चियाले अन्तर्राष्ट्रिय बजारमा विशेष पहिचान बनाएको छ।

पूर्वी नेपालको कृषि अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको चिया क्षेत्रबाट करिब ३० हजार किसान परिवारको आयआर्जन हुने गरेको छ। नेपाली चियाको ठूलो हिस्सा भारतीय बजारमा निर्भर रहेकाले हालको अवरोधले उद्योगको भविष्यप्रति गम्भीर चिन्ता उत्पन्न गरेको उद्योगीहरूको भनाइ छ।

उद्योगी तथा किसान संगठनहरूले समस्या समाधानका लागि नेपाल र भारतबीच कूटनीतिक तथा प्राविधिक तहमा तत्काल संवाद गरी निकास खोज्नुपर्ने आवश्यकता औँल्याएका छन्। भारतीय बजारमा अत्यधिक निर्भरता रहेको अवस्थाको फाइदा उठाउँदै गैरभन्सार अवरोध सिर्जना गरिएको किसानहरूको आरोप छ।

चिया क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले समयमै समस्या समाधान नभए नेपाली चिया उद्योग, किसान र श्रमिकमाथि दीर्घकालीन नकारात्मक असर पर्ने चेतावनी दिएका छन्।

Back to top