साङ्केतिक तस्बिर ।
वीरगञ्ज । नेपालमा उत्पादन भएको चिनीको खपत सकिएर भण्डार रित्तो हुँदा पनि सरकारले चिनी आयात गर्न अनुमति दिएको छैन ।
साल्ट ट्रेडिङ लगायत संस्थाले भन्सार छुटसहित चिनी आयात गर्न एक महिना अघि नै अनुमति माग्दै अर्थ मन्त्रालयमा पत्र पठाए पनि उक्त फाइल अर्थमै रोकिएर बसेको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसनका महाप्रबन्धक अर्थ मन्त्रालयको असहयोगका कारण सहुलियत दरको चिनी आयात गर्ने प्रयास असफल भएको बताए । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले कर छुटसहित आयात गर्ने प्रस्ताव आए पनि यसबारे कुनै निर्णय नभएको पुष्टि गरे ।
नेपालका वार्षिक करिब २ लाख ८० हजार मेट्रिक टन चिनीको माग छ । यो वर्ष नेपालमा एक लाख मेट्रिक टन मात्रै चिनी उत्पादन भयो जुन लगभग सकिएको छ । अघिल्लो वर्ष ८८ रुपैयाँ पर्ने चिनी कम उत्पादनसँगै अहिले ११४ रुपैयाँ पुगेको छ ।
नेपालमा प्रमुख चाडहरू दसैँ तिहार छठ लगायतमा चिनीको अत्यधिक खपत हुन्छ । आयात अनुमति नपाउँदा अभाव हुनसक्ने सरोकारवालाहरूको चिन्ता छ । अभियान दैनिकबाट ।