×

वीरगञ्ज । अहिलेको गठबन्धन सरकार सिमित स्वार्थी तत्वहरुको पृष्ठपोषकको रुपमा रहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् । प्रेस चौतारी पर्साले वीरगञ्जस्थित त्रिशला रेस्टुरेन्टमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धनको सरकार जनताको अवस्था सुधार र देश विकास भन्दा पनि व्यक्तिगत स्वार्थमा लिप्त रहेको टिप्पणी गरेका छन् । पछिल्लो २ महिनामा १ अर्ब राजस्व हिनामिना गरेको आरोप लगाउँदै उनले वैधानिक कारोवारलाई ठप्प गरी अवैधानिक कारोवारलाई प्रोत्साहन गर्ने गठबन्धन सरकारकै क्रियाकलापका कारण राजस्व कम उठेको जिकिर गरे । 

तस्करतन्त्रलाई उत्साहित हुने गठबन्धन सरकारले क्रियाकलाप गरेको पोखरेलको ठहर छ । उनले भने, ‘७ लाख ७२ हजारको हाराहारीमा युवाहरु विदेशीएका छन्, डेढ लाखको हाराहारीमा अध्ययनका लागि विदेशिनु पर्ने बाध्यता छ । सबै गरेर झण्डै ९ लाखभन्दा बढी नेपाली नागरिक विदेशीएपछि हाम्रो देशको अवस्था झनै खराब हुनु स्वभाविक नै हो ।’ उनले थपे, ‘काम गर्ने युवाहरु विदेश जाँदा स्वभाविक रुपमा देशको विकास रोकिएको छ । नेकपा एमाले सरकारमा रहँदा विदेश जानेहरुको संख्या घट्छ, एमाले सरकारबाट बाहिरिँदा युवाहरु निराश भएर विदेश जान बाध्य हुन्छन् ।’ 

राजनीतिक अस्थितरताको दुषचक्रमा नेपाल परेको तर्क गर्दै पोखरेल भन्छन्, ‘बहुदलीय व्यवस्था स्थापनाको ३४ वर्षमा २८ वटा प्रधानमन्त्री बने । एउटा प्रधानमन्त्रीले औषतमा सवा वर्ष पनि काम गर्न नपाएको अवस्थामा परिणाम देखिने गरी काम हुन नसक्नु स्वभाविक नै हो ।’ सर्वाेच्च अदालतको फैसला र परमादेशबाट गठन गरिएको नयाँ सरकारले गर्दा राज्यका सबै अंगहरु कमजोर बनेको उनको धारणा छ ।  

प्रतिपक्षमाथि नियोजित रुपमा घेराबन्दी र आक्रमण भइरहेको बताउँदै उनले आफ्ना कमजोरी लुकाउनका लागि अरुलाई आरोपित गर्ने चालबाजी सफल हुन नदिने दाबी गरे । भ्रष्टाचार जन्य क्रियाकलापमा छानविनका लागि निष्पक्ष न्यायिक समिति गठन गरौ भन्ने मागसमेत पूरा गर्न नसक्ने सरकारबाट अरु अपेक्षा गर्न नहुने उनको ठहर छ । ‘संसदमा जनताका आवाज उठाउने ठाउँमा पनि अवरोध सृजना गरीरहेको छ । प्रतिपक्षले बोल्न खोज्दा सत्तापक्षले उठेर अवरोध जनाउँछ । 

भ्रष्टाचारमा कुनै सम्झौता गर्दैन भन्ने गृहमन्त्री र प्रधानमन्त्री आफ्ना पार्टीका नेताहरु भ्रष्टाचारमा संलग्न भएको कुरा आउँदा सामान्यीकरण गर्न खोजिन्छ, र फोन सम्पर्ककै आधारमा कोही दोषि हुँदैन भन्ने आधारहिन तर्क दिइन्छ’ पोखरेलले थपे, ‘सुन तस्कर र माओवादीका नेताका बीचमा फोन सम्पर्क भएको कुराले उनीहरु पनि यस प्रकरणमा संलग्न भएको पुष्ठी हुन्छ । तर मुलुकलाई दलाल, नोकरशाह र तस्करी तन्त्रलाई प्रबद्र्धन गर्नेले जनताको ध्यान डायभर्ट गर्न खोजेका छन् । हामी त्यासो हुन दिँदैनौ, हाम्रो खबरदारी निरन्तर भइरहन्छ ।’ 

पत्रकार सम्मेलनमा नेकपा एमालेका नेता एवम् प्रतिनीधि सभा सदस्यहरु योगेश भट्टराई, अच्युत प्रसाद मैनाली, प्रतिनीधि सभा सदस्य राजकुमार गुप्ता, प्रभु हजरा, ज्वाला साह, नेकपा एमाले पर्साका संयोजक डा. बिशम्भर शर्मा लगायतको उपस्थिती रहेको प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बन्जाराले जानकारी दिए । 
 

Back to top