×

वीरगञ्ज । वीरगञ्जको आदर्शनगर निवासी सन्दिप रौनियारले अवैध रुपमा क्यासिनो खेलाउने गरेका छन् । यसअघि दियालो होटलको किंग्स क्यासिनोमा रहेका रौनियारले अहिले होटल सुरजको क्यासिनोमा खेलाइरहेका छन् । 

नेपाली नागरिकलाई भारतीय नागरिकको परिचय पत्र बनाएर अवैध रुपमा क्यासिनो खेलाउने गरेको पाइएको हो । कानूनतः क्यासिनोमा नेपालीहरुलाई प्रवेश निषेध छ । क्यासिनो नियमावली, २०७० को परिच्छेद ३ दफा १८ मा नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न नपाउने भनेर स्पष्ट उल्लेख गरेको छ ।

तर पर्सा र बाराको तारे होटलहरूमा नेपाली नागरिकलाई नक्कली भारतीय कार्ड बनाएर क्यासिनोमा प्रवेश गराउने गरेको पाइएको हो । क्यासिनो सञ्चालकहरुले सेटिङ मिलाएर एउटा छुट्टै गिरोह (एजेन्ट) मार्फत नेपाली नागरिकहरुलाई भारतीय आधार कार्ड बनाउने गरेको स्रोतको दावी छ । उक्त गिरोहको काम भनेको नेपाली ठूला धनाड्य व्यक्तिहरुसँग सम्पर्क गर्ने, मित्रता जोड्ने र अन्तत नक्कली भारतीय कागजात बनाएर क्यासिनोमा प्रवेश गराउने हो ।

नक्कली कागजात बनाए बापत पनि सो गिरोहले राम्रै रकम लिने गरेको पाइएको छ । स्रोतकाअनुसार रौनियार नै उक्त गिरोहका व्यक्ति हुन् । वीरगञ्ज महानगरमा रहेका क्लार्क रिसोर्ट, लड्र्स दियालोको किङ्गस कलेक्सन प्रालि, सुरज होटलको एक इन्टरनेशनल र होटल भिस्वामा रहेको सेन्ट्रल मिडिया गु्रपको ह्याप्पी आवर क्यासिनोमा अधिकांश नेपाली नागरिक जाने गरेका छन् । यी क्यासिनोहरुमा ९० प्रतिशत भन्दा बढी ग्राहकहरू नेपाली नागरिक हुने गरेको बताइन्छ ।

जुवा खेल्नेहरुमा यस क्षेत्रका उद्योगी व्यवसायी, बैंककर्मी, बीमाकर्मी, सरकारी कर्मचारीहरू लगायतसँग मित्रता बढाई प्रलोभनमा पारेर जुवा खेलाउने गरेको खुलासा भएको हो । केही महिना अगाडि भारत मोतिहारीका एक युवाले किंग्स क्यासिनोमा जुवा खेल्दा आफ्नो विवाहमा दाइजो बापत पाएको २० लाख नगदसहित सुन, चाँदी, मोटरसाइकल समेत सबै हारेपछि घर न घाटको बने ।

अन्तत उनले मोतिहारीको रेल्वे लाइनमा गएर आत्महत्या गरे । यो त एक प्रतिनिधिमूलक घट्ना मात्र हो । यस्ता केही घट्ना बाहिरा आउने गरेपनि धेरैजसो घट्नाहरु भित्रभित्रै मिलाउने गरिएको छ । गएको चैत १८ गते लर्डस दियालेको किंग्स क्यासिनोमा हारजितका कारण कुटाकुट भएको समाचार बाहिर आएको थियो ।

त्यसैगरी गैर कानूनी रुपमा क्यासिनो खेलेर लाखौं, करोडौं रकम हारेर घरबार बिहिन हुने नेपालीहरुको संख्या पनि कम छैन । जसका कारण घरमा वादविवाद, झगडा भई कतिपयको त सम्बन्धविच्छेदसम्मको अवस्थामा पुगेको घटनाहरू पनि सार्वजनिक भएका छन् । त्यसपछि बीचमा लागू औषध उपलब्ध गराउने कार्यमा केही कमी आएको थियो । तर कोभिड पछि फेरी क्यासिनो सञ्चालकहरुले आफ्ना ग्राहकहरुलाई लागू औषध उपलब्ध गराउने गरेको बताइन्छ ।

लड्र्स दियालोको किङ्गस कलेक्सनमा अहिले पनि नेपाली नागरिकलाई भारतीय परिचयपत्र बनाएर जुवा खेलाउने, हार्ने व्यक्तिलाई चर्को व्याजदरमा ऋण दिने र डर, त्रास, धाकधम्की दिएर रकम अशुल्ने कार्य भइरहँदा प्रहरी मौन बसिरहेको छ ।
 

Back to top