×

वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वीरगञ्ज पुगेको बेला नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुद्दिन अन्सारीको घरपरिवारसँग जलपान गरेका छन् । अन्सारीकै गाडी प्रयोग गरेका ओलीले उनको घरमै पुगेर परिवारसँग भेटघाट तथा जलपान गरेका हुन् । 

कलेजका अध्यक्ष डा. अन्सारीले आफ्ना छोरा कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारी विरुद्धको मुद्दाको अनुसन्धान प्रभावित पार्न खोजिएको टिकाटिप्पणी बजारमा हुन थालेको छ । २६ चैतमा अन्सारीलाई प्रहरीले ल्याबबाट म्याद नाघेको केमिकलसहित पक्राउ गरी मुद्दा चलाएको थियो ।

पर्सा प्रहरीले उनीमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराधविरुद्धको मुद्दा अन्तर्गत म्याद थप गरेको थियो । तर अदालतबाट म्याद थप भएका अन्सारी दोस्रोपटक ५ दिनको म्याद थप भएको केही घण्टामै राती साढे ११ बजे भिभिआइपी दबाबका कारण रिहा भएका थिए ।

सोही मुद्दाको अनुसन्धानलाई प्रभावित पार्न डा. अन्सारीले आफ्नो महंगो गाडी दिएर एमाले अध्यक्ष ओलीसँग हाइप्रोफाइल ‘कनेक्सन’ रहेको पुष्टि गरेका छन् । कलेज अध्यक्ष अन्सारी परिवारले हाइप्रोफाइल ‘कनेक्सन’ गाडी दिएर मात्र नभइ अझ आफ्नै घरमा लगेर अध्यक्ष ओलीको सेवा सत्कारसमेत गरेको फोटोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । डा. अन्सारीले एमाले अध्यक्ष मात्रै नभएर अन्य दलका प्रमुख एवम् प्रतिनीधिसँग पनि भेटघाट गरेर मुद्दालाई प्रभावित बनाउने कार्य गरीरहेका छन् । 

पार्टीमा लामो समयदेखि त्याग तपस्या गरेका व्यक्तिको घरमा नजानु, अन्य कार्यक्रमका लागि समय नदिएका ओली डा. अन्सारीको घरमा गएको भन्दै एमालेकै नेता कार्यकर्ताले पनि असन्तुष्टी जनाएका छन् । 
 

Back to top