×

वीरगञ्ज । अहिले मध्य बर्खाको समय। खोलानाला सबै बढेका छन्। खोलामा जलप्रवाहमा आधारित बिजुलीमा अत्यधिक निर्भर नेपालमा उत्पादन उच्च विन्दुमा पुग्ने समय पनि यही।

अनि फेरि यही समयमा किन बत्ती बेलाबेला गइरहेको छ ? नेपाल विद्युत प्राधिकरणको जबाफ छ – वर्षाको समयमा हुने प्राविधिक गडबडी। अहिले देखिएका बिजुली जाने प्रवृत्तिलाई प्राधिकरणका प्रवक्ता एवं प्रणाली सञ्चालन विभागका निर्देशक सुरेशबहादुर भट्टराईले बर्खाको मौसमले निम्त्याउने जटिलतासँग जोडेका छन्।

हाम्रो देशभरिको प्रसारण लाइनको जालो धेरैवटा जङ्गल हुँदै फैलिएको छ। पूर्वदेखि पश्चिमसम्मका विद्युत केन्द्रहरूबाट निस्कने बिजुली प्रसारण गर्दा कहीँ न कहीँ जङ्गलको क्षेत्र पर्छ, उनले कारण खुलाउँदै भने।

बर्खाका बेला जङ्गलका केही ठाउँमा जमिन पानीले भिजेर कमजोर हुने गर्छ। त्यसपछि वरपरका रुखहरू अलि बाङ्गिएर तार छोइदिने वा हावाहुरीले हाँगा लत्रिएर छोइदिने अवस्था हुन्छ। त्यस्तो अवस्थाका कारण अहिले देशभरि बिजुली प्रसारणमा अवरोध पैदा हुने गरेको छ।

बिजुलीको स्वाभाविक प्रसारणमा अवरोध भएर उत्पन्न भएका अर्थ फल्ट अनि बाह्य तत्वले प्रसारण लाइनमा छुने जस्ता घटनाले अहिले बेलाबखत समस्या पार्ने गरेको उनले सुनाए। यसकै कारण बिजुलीको निर्वाध प्रवाहमा समस्या परेको हो, भट्टराईले भने।

ती बाहेक कतै कतै स्थानीय आगलागीजस्ता दुर्घटना, पोल सार्ने कार्य, ट्रान्सफर्मरमा गडबडी वा नियमित मर्मतसम्भारका कारण पनि बिजुली गएको हुनसक्ने उनले बताए। प्रणालीमा देखा परेका यस्ता जटिलताको जड पूर्वाधार तथा इन्जिनियरिङमा विद्यमान समस्या रहेको जानकारहरूले बताउने गरेका छन्।

प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार उत्पादन र उपभोगमा भएका व्यापक परिवर्तनसँग मेल खानेगरी पूर्वाधारमा विकास हुन नसक्दा यस्ता गडबडी देखा परिरहन्छन्।

बर्खाका बेला जमिन भासिने वा बोटबिरुवा लत्रिएर हुने समस्या नौला होइनन्। तर अचेल किन यो बढिरहेको छ भने हाम्रो प्रसारण लाइनको पूर्वाधार तथा मिडियम भोल्टेजको पूर्वाधारमा ओभरलोड भएको छ, शाक्यले बताए।

हामी अहिले दैनिक ४३ देखि ४४ हजार मेगावाट ऊर्जा खपत गर्ने भइसकेका छौँ तर हाम्रो पूर्वाधार एकदम विस्तारै विकसित भइरहेका छन्। त्यसैले यो चार पाँच वर्ष यता पूर्वाधारहरूमा अत्यधिक चाप परिरहेको छ, शाक्यले भने।

यस्तो अवस्थामा कतै सानो समस्या उत्पन्न हुनासाथ त्यसले अन्य लाइनमा प्रभावित पार्ने गरेको उनले बताए। अनि फेरि ती पूर्वाधारमा स्वीचिङ गियरलगायतका इन्जिनियरिङका सुरक्षा प्रणाली अद्यावधिक हुनु पनि जरुरी छ, उनले भने।

यसका लागि पूर्वाधार सुधार अनि इन्जिनियरिङ प्रविधिको अपग्रेड वा स्तरोन्नति आवश्यक पर्ने शाक्यले बताए। पूर्वाधार विकासको कुरा गर्दा प्रसारण लाइनहरू निर्माणमा जग्गा प्राप्तिका झन्झट अनि मानिसहरू कसैले पनि आफ्ना जग्गामा तिनको निर्माण गर्न नदिने प्रवृत्ति चुनौती बनेको उनको भनाइ छ।

अनि नियन्त्रण तथा सुरक्षाका विभिन्न प्रणालीहरू पनि पुरानै उपयोग भइरहेका हुनाले प्रविधिको विकासमा पनि ध्यान दिन जरुरी भइसकेको उनी बताउँछन्। पूर्वाधार अझ खासगरी प्रसारण लाइन निर्माणमा धेरै ढिलाइ भइरहेका देखिन्छन्।

यी विषयमा ध्यान नदिने हो भने आगामी वर्षहरूमा यो समस्या झन् झन् बढ्ने जानकारहरूले चेतावनी दिएका छन्। अहिले नेपालमा जडित क्षमता अर्थात् कुल उत्पादन क्षमता २८ सय मेगावाटको हाराहारीमा रहेको भट्टराईले बताए।

त्यसमा नेपाल विद्युत प्राधिकरणको योगदान करिब सवा ५ सय मेगावाट रहेको अनि बाँकी चाहिँ स्वतन्त्र ऊर्जा उत्पादकहरूले योगदान गरिरहेको उनले बताए। अहिले उच्च माग भनेको २ हजार मेगावाटभन्दा बढि पुगेको उनले बताए।

औसतमा माग त्योभन्दा कम छ। भारतसँग ४५२ मेगावाटसम्म बिजुली निर्यात गर्न सकिन्छ। एकातिर खपतभन्दा उत्पादन धेरै अनि अर्कोतिर प्रसारण लाइन सहितका सञ्जालको अभावले खासगरी बर्खा याममा ठूलो परिमाणमा बिजुली खेर जाने गरेको छ।

Back to top