×

वीरगञ्ज ।  खेलमार्फत पर्यटनको प्रवद्र्धन गर्न सकेमा स्वदेशमै रोजगार सृजना गर्न सकिने युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले दाबी गरे । शनिवार बिहान वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बुले वीरगञ्जसहित समग्र मधेशको समृद्धीका लागि खेल क्षेत्रको प्रवद्र्धन गरेर पर्यटन व्यवसायलाई बढावा दिनुपर्नेमा जोड दिएका छन् । 

युवा तथा खेलकुद मन्त्रालयअन्र्तगतको राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगीता वीरगञ्जसहित मधेश प्रदेशमा गर्ने तयारी भइरहेको मन्त्रीले लिम्बुले जानकारी गराए । 

खेलकुद प्रतियोगीता सञ्चालन गर्दा यहाँ देशैभरबाट र देशबाहिरबाट पनि खेलाडी, प्रशिक्षक एवम् खेलप्रेमीहरुको बाक्लो उपस्थिती हुने भएकाले यसबाट आर्थिक गतिविधि पनि बढ्ने र सुस्ताएको व्यापार व्यवसाय पनि चलायमान हुने मन्त्री लिम्बुको विश्वास छ । 

गण्डकी, कर्णालाी, बागमती लगायतका प्रदेशमा हुने खेलहरु अब मधेश प्रदेशमा पनि आयोजना गर्नुपर्नेमा जोड दिँदै उनले यसका लागि सबै सरोकारवालाले हातेमालो गर्नुपर्ने आवश्यक्ता औँल्याए । नारायणी रंगशालाको पुर्ननिर्माणका लागि आफु गम्भिर भएको बताउँदै उनले अर्थमन्त्री र प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराई आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

साथै उनले इनडोर खेल खेल्नका लागि नयाँ कबर्ड हल बनाउने कार्यमा पनि निजी क्षेत्रसँगै स्थानीय र प्रदेश सरकारले सहयोग तथा समन्वय गर्नुपर्ने बताए । नारायणी रंगशाला र गौतम मावि छेउको जमिनमा कबर्ड हल बनाइदिने प्रस्ताव गौतम स्कुलले गरेको जानकारी गराउँदै उनले यसका लागि सरोकारवालाले छलफल गरेर आवश्यक निष्कर्षमा पुग्न सकिने धारणा राखे । खेल क्षेत्रसँगै शिक्षा स्वास्थ्य लगायतका सामाजिक कार्यमा निजी क्षेत्रका सहयोगको सह्राना गर्दै मन्त्री लिम्बुले यसलाई निरन्तरता दिन आग्रह गरे । 

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले वीरगञ्जलाई राज्यले उपेक्षा गर्दै आएको गुनासो गरे । उनले भने, ‘यहाँका जति पनि खेलाडी छन्, उनीहरु आफ्नै मेहनत र आफ्नै लगानीबाट स्थापित भएका छन् । तर राज्यले कुनै पनि लगानी यहाँका खेलाडीको प्रोत्साहनका लागि गरेको छैन ।’

आदर्शनगर रंगशाला र नारायणी रंगशालामा ठूलाठूला खेलहरु आयोजना गर्न सकिने बताउँदै उनले आदर्शनगरस्थित स्विमिङ् पुलमा अन्तर्राष्ट्रिय स्तरका पौडी प्रतियोगीता गर्न सकिने भएपनि व्यवस्थापनका कारण ओझेलमा परेको बताए । मधेश प्रदेशबाट दक्ष खेलाडी उत्पादन गर्न सकिने भएपनि राज्यको नजर पर्न नसकेकोप्रति उनले दुखेसो पोखेका छन् । 

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले निजी क्षेत्रसँग सहयोग माग्ने तर उद्योगी व्यवसायीलाई हतोत्साहित गर्ने राज्यको प्रवृतिप्रति आक्रोश पोखे । उनले भने, ‘व्यवसायीलाई दुख दिने राज्यको नीयतले उद्योगी व्यवसायीहरु आजित बनेको बताउँदै उनले कर्मचारीहरुले घुस खाने र व्यापार व्यवसाय बन्द गर्ने अवस्था बनाएको बताए । हरेक क्षेत्रमा सुशासनको अभाव भएको बताउँदै उनले अहिले सरकारले ल्याएको लेबलींग सम्बन्धी व्यवस्था अव्यवहारिक भएको बरिष्ठ उपाध्यक्ष गौतमको ठम्याई छ । 

कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेल, अमरसिंह पुन, अर्विन्द गुप्ता, नेपाली कांग्रेस वीरगञ्ज महानगर समितिका सभापति मणिन्द्रलाल नेपाली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधब राजपालले गरेका थिए । 
 

Back to top