×

वीरगञ्ज । वीरगञ्जको सूर्या अस्पतालअन्तर्गतको सूर्या आइभीएफ सेन्टरमा उपचार गराएकी महिलाले सन्तानका रूपमा छोरालाई जन्म दिएकी छन् ।

लामो समयदेखि सन्तान प्राप्तिका लागि सङ्घर्ष गरिरहेका वीरगञ्ज निवासी ४० वर्षीय अपर्णा (नाम परिवर्तित) र ४२ वर्षीय श्याम (नाम परिवर्तित) दम्पतीले सूर्य आइभीएफ सेन्टरमा उपचार गराएपछि सन्तानका रूपमा छोरा पाएका हुन् ।

नेपालको सङ्घीय राजधानी काठमाडौँदेखि भारतस्थित विहार राज्यको केन्द्र पटना र मोतिहारीसम्म उपचार गराए पनि गर्भवती नभएकी अपर्णा सूर्या आइभीएफ सेन्टरमा ‘आइभीएफ (इन–भिट्रो फर्टिलाइजेसन)’ प्रविधिबाट उपचार गराएपछि गर्भवती भएकी थिइन् । 

झन्डै ११ महिना अगाडि अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोनिका यादव सिंहले चिकित्सकीय सहायक प्रजनन प्रविधिमार्फत उपचार सुरु गरेपछि पहिलो प्रयासमै अपर्णा ९ महिना अगाडि गर्भवती भएको श्रीमान् श्यामले बताए । ‘पछिल्लो २० वर्षदेखि हामीहरू सन्तान प्राप्तिको लागि तपस्या गर्दै थियौँ । देश, विदेशमा गएर उपचार गराउन लाखौँ खर्च गर्‍यौँ । पटनासम्म पुगेर आइभीएफ गरायौँ तर सन्तान प्राप्तिको खुसी हामीले पाउन सकेका थिएनौँ,’ उनले भने, ‘पछि वीरगञ्जमै आइभीएफ सेन्टर खुलेको जानकारी पाएपछि डा. मोनिका यादव सिंहबाट उपचार सुरु गराएको पहिलो प्रयासमै श्रीमती गर्भवती भइन । आज हामीले सन्तानको रूपमा छोरा पाएका छौँ ।’ 

उनले वीरगञ्जमै सफलतापूर्वक आइभीएफ प्रविधि मार्फत उपचार भइरहेकोले अब लाखौँ खर्च गरेर अन्य ठाउँ जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।

सूर्या अस्पतालका अनुसार मधेस प्रदेशमै पहिलो पटक आइभीएफ प्रविधिबाट उपचार गराएर कसैले बच्चा जन्माएको छ । ‘यसअघि मधेसको कुनै पनि अस्पतालमा आइभीएफ प्रविधि प्रयोग गरेर बच्चा जन्मिएको अभिलेख छैन,’ डा. मोनिका यादव सिंहले भनिन्, ‘सूर्या अस्पतालमै पहिलो पटक हाम्रो टिमको प्रयासले यसमा सफलता पाएको छ । मधेस प्रदेशमै आइभीएफ प्रविधिबाट उपचार गराएर कसैले बच्चा जन्माएको पहिलो पटक हो ।’

अस्पतालमा हाल ३० जना महिलाको आइभीएफ प्रविधिबाट उपचार चलिरहेको डा. सिंहले बताइन् । ‘हामीसँग सम्पूर्ण सुविधासहितको आइभीएफ सेन्टर छ । उपचार गराउन आउने व्यक्तिलाई झन्झट नहोस् भनेर हामीले चाहिने सबै सेवा एकै ठाउँमा उपलब्ध गराएका छौँ,’ उनले थपिन्, ‘हामी कहाँ उपचार गराएकामध्ये ७० प्रतिशतले सफलता पाइरहेका छन् ।’ 

भारतको नयाँ दिल्लीबाट आइभीएफ सम्बन्धी विशेष तालिम लिएर आएकी डा. सिंहले आइभीएफलाई एउटा जटिल प्रक्रिया भएको बताउँदै यसबाट उपचार गराइरहेका व्यक्तिले धैर्य राख्नुपर्ने सुझाव दिइन् । ‘संसारभर नै आइभीएफको सफलता प्रतिशत ४० प्रतिशतसम्म मात्र छ । पहिलो प्रयासमै सफल नहुन सके पनि दोस्रो, तेस्रो प्रयासदेखि सफल हुने सम्भावना बढ्दै जान्छ,’ उनले भनिन् ।

त्यस्तै अस्पतालले जटिल किसिमको हाड जोर्नी तथा नशा सम्बन्धी रोगको उपचार पनि सुरुवात गरेको अस्पतालका प्रमुख एवम् वरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. सरोज सिंहले जानकारी दिए । उनले पछिल्लो पूर्ण रूपले पक्षाघात भएका बिरामीको आफूले सफल उपचार गरिएको बताउँदै उनले भने, ‘हामीले वीरगञ्जमै सम्भवतः पहिलो पटक यस्तो उपचार गरेर मान्छे हिँडाएर देखाएका छौँ । पहिला सम्भव नभएका अन्य धेरै जटिल किसिमका शल्यक्रिया पनि हाम्रो अस्पतालमा अहिले भइरहेका छन् ।’  अस्पतालले हाल जटिल किसिमको बाल रोग सम्बन्धी उपचार पनि सुरुवात गरेको उनले बताए ।

अस्पताल मार्फत आफूहरूले गुणस्तरीय, भरपर्दो र सस्तो सेवा उपलब्ध गराउने उद्देश्य लिएको डा. सरोज सिंहको भनाई छ । ‘आज पनि हाम्रो अस्पतालमा उपचाररत बिरामीहरूलाई हामीले नि:शुल्क क्याबिनको व्यवस्था गरेका छौँ,’ उनले भने । अस्पतालले आगामी दिनहरूमा आफ्नो सेवा विस्तार गर्दै लग्ने योजना बनाएको उनले जानकारी दिए ।

Back to top