वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी कर्मचारीहरूको शारीरिक तन्दुरुस्ती अभिवृद्धि तथा आपसी भाइचारा र सद्भावको विकास गर्ने उद्देश्यले ‘रन एन्ड फन’ कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलसहित मातहतका विभिन्न प्रहरी इकाइमा कार्यरत १२५ जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो। सो अवसरमा विभिन्न उमेर समूहअन्तर्गत दुई माइल दौड प्रतियोगिता सञ्चालन गरिएको थियो।
१८ देखि ३० वर्ष उमेर समूहमा प्रहरी जवान विकेश चौरसियाले प्रथम, प्रहरी जवान शिवमकुमार सिंहले द्वितीय तथा प्रहरी जवान हरिनारायण पण्डित कुम्हारले तृतीय स्थान हासिल गरेका छन्।
३१ देखि ४० वर्ष उमेर समूहमा प्रहरी जवान शम्भु राना प्रथम, प्रहरी जवान रञ्जित यादव द्वितीय तथा प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकी तृतीय भएका छन्।
त्यसैगरी ४१ देखि ५० वर्ष उमेर समूहमा प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेल प्रथम, प्रहरी हवल्दार गौतम अहिर द्वितीय तथा प्रहरी निरीक्षक जीवन श्रेष्ठ तृतीय स्थानमा रहे।
महिला समूहतर्फ प्राविधिक प्रहरी जवान अन्जु चौधरी प्रथम, प्रहरी जवान अनिता राउत द्वितीय तथा प्रहरी हवल्दार विनिता थापा तृतीय भएकी छन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता प्रहरी कर्मचारीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार यस्ता कार्यक्रमले प्रहरी कर्मचारीहरूको शारीरिक क्षमता अभिवृद्धि गर्नुका साथै आपसी सहकार्य, अनुशासन र संगठनात्मक एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।