×

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल इन्फोटेक कलेजमा शनिवार छुट्टै माहौल थियो । चार तले भवनको भुईँदेखि तेस्रो तलासम्म विद्यार्थी, शिक्षक र अभिभावकहरूले भरिभराउ थियो । विद्यार्थीहरूले समूहगत परियोजनाअन्तर्गत निर्माण गरेको विभिन्न यन्त्र र आविष्कार बारे भ्रमण गर्न आएका अतिथिहरूलाई बुझाइरहेका थिए ।

कसैले आवश्यक परेको बेला आफै निर बोलाउन सकिने ‘स्मार्ट डस्टबिन’ का बारेमा बुझाइरहेका थिए भने कसैले घर भित्र अपरिचित व्यक्ति प्रवेश गरेपछि ‘साइरन’ बजाएर जानकारी दिने यन्त्रको बारेमा । त्यस्तै केही विद्यार्थीले आफै बोल्न सक्ने रोबोट निर्माण गर्दा प्रयोग गरिएको तकनिकका बारेमा विश्लेषण गर्दै थिए भने केहीले बर्सात पश्चात् बाढीको पानी सहरमा प्रवेश गर्नुअघि सहरवासीलाई जानकारी दिएर सचेत गराइदिने प्राविधिकको डेमो दिइरहेका थिए ।

विद्यार्थीहरूले निर्माण गरेको यस्तै यन्त्र र आविष्कारलाई प्रदर्शनी गर्ने नेशनल इन्फोटेक कलेजले शनिवार एक दिने विज्ञान प्रदर्शनी आयोजना गरेको थियो । प्रदर्शनीमा राखिएको कूल ३० वटा परियोजनाहरूको आ-आफ्नै विशेषता र भिन्नता थिए ।

विद्यार्थीहरूले मोबाइलबाट नियन्त्रण गर्न सकिने घरको बिजुली, ऊर्जाको खपत घटाउन आवश्यक नपरेको बेला आफै निभ्ने सडक बत्ती, खेतमा पानीको कमी भएपछि आफै मोटर मार्फत सिँचाई गरिदिने यन्त्रसम्म बनाएका थिए ।

सैद्धान्तिक पढाइबाट आर्जन गरेको सिकाइलाई वास्तविक जीवनमा पनि प्रयोग गर्न सिकाएर विद्यार्थीलाई भविष्यका लागि तयार पार्ने उद्देश्यका साथ कलेजले सञ्चालन गरेको एक हप्ते विशेष कक्षाबाट सिकेर विद्यार्थीहरू सबै परियोजनाहरू बनाएको कलेजका कार्यकारी निर्देशक मनिष सिंहले बताए ।

सिंहका अनुसार सैद्धान्तिक पठनपाठनले मात्र विद्यार्थीहरूको सिकाइ पूरा हुँदैन । ‘बदलिँदो परिवेश र युगसँगै हामीले पनि आफ्नो पठनपाठन र सिकाइका तरिकाहरूमा परिवर्तन गर्न आवश्यक छ । समयसँगै ढल्न सकिएन भने हामी निक्कै पछाडि छुट्छौँ,’ उनले भने, ‘सिकाइको तरिकालाई परिवर्तन गर्ने एउटा प्रयास स्वरूप हामीले आजको विज्ञान प्रदर्शनी गरेका छौँ ।’

विद्यार्थीहरू आगामी शिक्षाका लागि बाहिर जाँदा अक्षम र अयोग्य महसुस नगरुन् भनेर पनि व्यावहारिक शिक्षालाई जोड दिने किसिमको प्रयासहरू आफूले सुरु गरेको उनले बताए । ‘हाम्रो संस्थाबाट पढेर गएका विद्यार्थीले आगामी दिनमा कसै समक्ष आफूलाई कमजोर र अयोग्य नठानुन् भन्ने उद्देश्यले पनि हामीले यस्ता कार्यक्रमहरू आयोजना गर्ने गरेका छौँ । यसले सिकाइमा योगदान पुर्‍याउनुका साथै उनीहरूको नेतृत्व र व्यक्तित्व विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ,’ उनले भने ।

परियोजनाहरू तयार पार्न कलेजले विशेष कक्षाको आयोजना गरे पनि अधिकांश काम विद्यार्थी आफैले गरेको कलेजकी वित्त निर्देशक काजल सिंहले बताइन् । प्रत्येक दिन कलेज बिदा भएपछि विद्यार्थीहरूले विशेष कक्षामा सहभागी भएर सिक्ने र त्यसलाई घर गएर लागू गर्दै केही नयाँ बनाउने गरेको उनले जानकारी दिइन् ।

प्रदर्शनीमा राखिएका अधिकांश यन्त्र र आविष्कारहरूले आम मानिसको व्यक्तिगत जीवनलाई सहज र सुरक्षित बनाउने किसिमका रहेको सिंहले बताइन् । ‘विद्यार्थीहरूको बनाएका परियोजनाहरू हेर्नुभयो भने आम मानिसको जीवनलाई सहज र सुरक्षित बनाउने किसिमका छन्,’ उनले भनिन् ।

Back to top