फाइल तस्विर ।
वीरगञ्ज । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी ) लाई २४ अर्ब बक्यौता रकम बुझाएको छ । रुस–युक्रेन युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य बढ्दा निगमले आइओसीसँग उधारोमा तेल खरिद गर्ने गरेको थियो । सन् २०२२ मे २ बाट तिर्न बाँकी रहेको बक्यौता रकम अहिले चुक्ता गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
भारतबाट महँगोमा खरिद गरेर सस्तोमा बिक्री गर्नुपर्दा निगम घाटामा गएको थियो । प्रवक्ता ठाकुरका अनुसार निगमले आइओसीको पूरै बक्यौता रकम चुक्ता गरेको छ ।
उनले भने, “रुस युक्रेनको युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य बढेको समयमा भारतसँग निगमले महँगोमा ल्याएर घाटामा बेच्दा २४ अर्ब ऋण थुप्रिएको थियो । हाल यो रकम सबै चुक्ता भएको छ ।”
निगमले अब सरकारलाई साढे छ अर्ब र मूल्य स्थिरीकारण कोषलाई साढे तीन अर्ब रुपैयाँ भने तिर्न बाँकी रहेको उनको भनाइ छ । यस्तै, पेट्रोलियम पदार्थ बिक्रेताले राखेको धरौटी बापतको रकमबाट एक अर्ब ९५ करोड रुपैयाँ तिर्न बाँकी छ । यसबाहेक, कर्मचारी आवास कोषको सवा तीन अर्ब रुपियाँ तिर्न बाँकी छ ।
निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको समयमा तेल किन्न पैसा अपुग भएपछि यी कोषको रकम चलाएको थियो । चालू आर्थिक वर्षमा निगमले १७ अर्ब रुपैयाँ नाफा कमाएको उनको भनाइ छ ।
प्रवक्ता ठाकुरले भने, “चालू आर्थिक वर्षको भदौ महिनाबाट निगम नाफामा जान लाग्यो । अहिलेसम्म निगमले १७ अर्ब नाफा कमाएको छ । नाफा र अन्य स्रोतबाट रकम जुटाएर आइओसीलाई बक्यौता रकम चुक्ता गरेका हौँ ।”
पछिल्लो समय भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको र मूल्य समायोजन गर्दा पनि निगमलाई केही नाफा भएकाले बक्यौता रकम तिर्न सफल भएको उनको भनाइ छ । प्रवक्ता ठाकुरले भने, “पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा मूल्य समायोजन गर्दा निगमलाई केही नाफा हुने गरेको थियो। उक्त नाफा रकम बिस्तारै बढ्दै जाँदा रकम चुक्ता गर्न सहज भयो ।” गोर्खापत्र दैनिकबाट ।