जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेना पदक तालिकामा शीर्ष स्थानमा रहेको छ। आर्मीले दुई स्वर्ण, चार रजत र छ कास्य गरी १२ पदक प्राप्त गरेको छ।
आर्मीका रमाकुमारी सिंह र इन्द्र पौडेलले फेन्सिङमा स्वर्ण प्राप्त गरेका हुन्। यसैगरी बागमती प्रदेश दुई स्वर्ण र एक कास्यसहित तालिकाको द्वितीय स्थानमा छ। बागमतीका ओमकार सिंह र शिक्षा नापितले फेन्सिङमा स्वर्ण पाएका हुन्।
सशस्त्र प्रहरीको एपिएफ क्लब एक स्वर्ण, दुई रजत र पाँच कास्यसहित तेस्रो स्थानमा छ । एपीएफका राजेन्द्र गजुरेलले फेन्सिङमा स्वर्ण जितेका हुन्।
सुदूरपश्चिम प्रदेशका जलेन्द्रबहादुर शाहीले फेन्सिङमा स्वर्ण जितेका छन्। सुदूरपश्चिमले एक स्वर्ण र एक कास्य जितेको छ। नेपाल प्रहरीको पुलिस क्लबले पुरुष क्रिकेटमा स्वर्ण जितेको छ।
आयोजक गण्डकी प्रदेशले हालसम्म एक कास्य पदक मात्र प्राप्त गरेको छ । कर्णाली, लुम्बिनी, मधेस, प्रदेश १ र एनआरएन हालसम्म पदकविहीन छन् ।
राष्ट्रिय खेलकुदमा ३९२ स्वर्ण, ३९२ रजत र ६०० कास्य गरी एक हजार ३८४ पदकका लागि सात प्रदेश, तीन विभागीय टोली र एनआएरएनको टोलीबीच प्रतिस्पर्धा हुँदैछ।
राष्ट्रिय खेलकुद औपचारिकरूपमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने भए पनि २३ गतेदेखि नै केही खेल भइरहेका छन्। पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै काठमाडौँमा सम्पन्न भइसकेको छ।
हालसम्म सात स्वर्णसहित २७ पदकको टुंगो लागेकोछ।