×

फिफा विश्वकप २०२६ अन्तर्गत न्यूजर्सी स्टेडियममा भएको समूह चरणको एक निकै नै रोमान्चक र तनावपूर्ण खेलमा नर्वेले अफ्रिकी च्याम्पियन सेनेगललाई ३–२ गोल अन्तरले पराजित गरेको छ। 

खेलको अन्तिम समयसम्म निकै प्रतिस्पर्धात्मक बनेको यस खेलमा नर्वेलाई जिताउन स्टार स्ट्राइकर एर्लिङ हालान्डले उत्कृष्ट प्रदर्शन गरे।

मार्कस होल्मग्रेन पेडेरसनले खेलको ४३औँ मिनेटमा गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलले अगाडि रहेको नर्बेले दोस्रो हाफ सुरु भएको लगत्तै स्टार खेलाडी एर्लिङ हालान्डले गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाए।

सेनेगलका इस्माइला सारले ५३औँ मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। सेनेगलले गोल फर्काएको ५ मिनेट नबित्दै हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ३–१ को बलियो स्थितिमा पुर्‍याए। खेलको अन्तिम समय (इन्जुरी समय) मा सेनेगलका इस्माइला सारले व्यक्तिगत दोस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

जितपछि नर्वे पनि अन्तिम ३२ मा प्रवेश गरेको छ। दुई खेलमा चार गोल गरेका हालान्ड सर्वाधिक गोलकर्ताको सूचीमा पुगेका छन्। पाँच गोल गरेका मेसी शीर्ष स्थानमा रहँदा यही समूहमा रहेको फ्रान्सका स्टार स्टाइकर एम्बापेले समान चार गोल गरेका छन्। यही समूहको अर्को खेलमा फ्रान्सले इराकलाई ३–० ले पराजित गरेको थियो। 

अब नर्बेले फ्रान्ससँग आगामी शनिबार खेल्नेछ। यही समूहका इराक र सेनेगल सोही दिन भिड्नेछन्। 

Back to top