वीरगञ्ज । बढ्दो गर्मी र अत्यधिक तापक्रमलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनाअनुसार भोलि असार ११ गते बिहीबारदेखि लागू हुने गरी विद्यालयहरूमा बिदा दिइएको हो। उक्त बिदा वार्षिक बिदाबाट कट्टा हुने जनाइएको छ।
महाशाखाका अनुसार चर्को गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै केही दिनका लागि पठनपाठन स्थगित गर्ने निर्णय गरिएको हो।
सूचनामा विद्यालयहरू आगामी असार १५ गते सोमबारदेखि नियमित रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ।
पछिल्ला केही दिनयता तराई–मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ। यसै अवस्थालाई ध्यानमा राख्दै वीरगञ्ज महानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर गर्मी बिदा दिने निर्णय गरेको जनाएको छ।