×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पूर्वाधार विकास, वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, आर्थिक विकास, सामाजिक विकास तथा सुशासनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

बुधबार नगरसभा गृहमा आयोजित नगरसभाको २० औँ अधिवेशनमा कार्यवाहक मेयर इम्तियाज आलमले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वीरगञ्जलाई डिजिटल तथा सुशासनयुक्त महानगर, नागरिक–केन्द्रित सेवा प्रणाली भएको सहर, हरित तथा दिगो सहरी संरचनायुक्त स्थान, उद्यमशीलता र लगानीको केन्द्र तथा अवसर सिर्जना गर्ने आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताए।

उनका अनुसार नीति तथा कार्यक्रममा दिगो विकास लक्ष्यको स्थानीयकरण, आधुनिक तथा गुणस्तरीय शहरी पूर्वाधार निर्माण, सुरक्षित र व्यवस्थित बस्ती विकास, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, कृषि तथा उद्यम विकास, लगानी तथा पर्यटन प्रवर्द्धन, सुशासन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा तथा समावेशी विकासलाई प्रमुख प्राथमिकताका रूपमा समेटिएको छ।

महानगरले आन्तरिक आय अभिवृद्धि, प्रक्रियागत पुनर्संरचनामार्फत सेवा प्रवाहमा सुधार, प्रविधिमैत्री प्रशासन, नागरिक सहभागितामा आधारित विकास व्यवस्थापन तथा सार्वजनिक स्रोत–साधनको पारदर्शी र परिणाममुखी परिचालनलाई समेत विशेष प्राथमिकता दिएको जनाएको छ।

कृषि क्षेत्रको आधुनिकीकरण, विविधीकरण तथा व्यवसायीकरणलाई प्रोत्साहन गर्न आधुनिक प्रविधिमा आधारित उत्पादनशील कृषि प्रणाली अवलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। मुख्य खाद्यान्न बाली गहुँको उत्पादन वृद्धि गर्न कृषकहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ वितरण कार्यक्रमलाई निरन्तरता दिइने कार्यवाहक मेयर आलमले जानकारी दिए।

त्यसैगरी, जलवायु परिवर्तन तथा रासायनिक मलको अत्यधिक प्रयोगका कारण कृषि क्षेत्रमा देखिने जोखिम, बालीनालीमा लाग्ने आकस्मिक रोगव्याधि तथा कीरा नियन्त्रणका लागि ‘आकस्मिक बाली संरक्षण कार्यक्रम’ सञ्चालन गरिने भएको छ। कृषकलाई नवीन प्रविधिसँग जोड्न वर्षे तथा हिउँदे मिनीकिट वितरण र सहरी क्षेत्रमा च्याउ खेती प्रवर्द्धनका लागि च्याउको बीउ वितरण कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।

शिक्षा क्षेत्रतर्फ महानगरले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विशेष जोड दिएको छ। नीति तथा कार्यक्रममा महानगर क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कुनै पनि बालबालिका शिक्षाको मूलधारबाट बाहिर नपर्ने वातावरण निर्माण गर्दै विद्यार्थी भर्ना दर शतप्रतिशत पुर्‍याउन समन्वय, सहकार्य, अनुगमन तथा मूल्यांकन कार्यलाई तीव्रता दिइने उल्लेख गरिएको छ।

नगरसभाको सोही अधिवेशनमा कार्यवाहक मेयर आलमका तर्फबाट नगर कार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित आय–व्यय विवरणसहितको बजेट पनि प्रस्तुत गरेका थिए।

कार्यवाहक मेयर आलमको अध्यक्षतामा सम्पन्न नगरसभाको २० औँ अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरा, नगर कार्यपालिका सदस्यहरू, ३२ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यहरू, महानगरपालिकाका कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो।

महानगरपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माण, सेवा प्रवाह सुधार, कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा तथा दिगो सहरी विकासलाई प्राथमिकतामा राख्दै नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको जनाएको छ।

Back to top