×

वीरगञ्ज, २७ भदौ ।  हात हेरेर अरुको भविस्य बताउँदा बताउँदै आफ्नै भविष्य बनाएका मदन चौवेले सञ्चालन गरेको प्राइम फर्मास्युटिकल्स प्रालीले श्रम शोषण गरेको भन्दै समग्र उद्योग ट्रेड युनियन नेपाल मधेश प्रदेश समितिले ध्यानाकर्षण गराएको छ ।

युनियनका मधेश प्रदेश सचिव प्रेम चौधरी नेतृत्वको युनियनको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले कम्पनीको मनोमानी रोकेर श्रम ऐन एवम् सामाजिक सुरक्षा ऐनको कार्यन्वयन गर्नुपर्ने माग राखेका छन् । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ परसवास्थित प्राइम फर्मास्युटिकल्स प्रा.ली.ले श्रमिकहरुलाई अनावश्यक दुःख दिएको भन्दै युनियनले आपत्ती जनाएको हो । प्राइम फर्मास्युटिकल्स प्रा.ली.मा कार्यरत श्रमिकहरुमाथि श्रम ऐन र सामाजिक सुरक्षा ऐन विपरितका क्रियाकलाप गरेको युनियको ठहर छ ।
रोजगारदाता अर्थात उद्योगहरुले श्रम कानुन नमान्ने, न्युनतम पारिश्रमिक लागु नगर्ने, नियमित रोजगार माग गर्दा धरपकड गर्ने, कार्यरत श्रमिकलाई जवरजस्ती राजीनामा पत्रमा हस्ताक्षर गराउने, गैरकानुनीमार्फत श्रमिक राख्ने लगायतका क्रियाकलाप भइरहेको युनियले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । 

प्रहरी र प्रशासनको आडमा श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन २०७५ को उलंघन भएको भन्दै युनियनले ध्यानाकर्षण गराएको हो । प्रा.ली.मा विगत केही वर्षदेखि कार्यरत श्रमिकलाई विभिन्न बहाना बनाएर दुख दिइरहेको ज्ञापन पत्रमा उल्लेछ ।

८ घण्टा काम गरीसकेपछि पनि श्रम ऐन २०७४ विपरित जवरजस्ती ओभर टाइम बस्न दबाब दिने, ओभरटाइम बस्न नमानेको खण्डमा मुल गेटमा ताल्चा लगाइदिने, हाजिरी रजिष्टार लुकाईदिने, श्रमिकको इच्छाविपरित जवरजस्ती राजीनामा पत्रमा हस्ताक्षर गर्न दबाब दिने, नमानेमा हाजिरी गर्न र काम गर्न रोक लगाउने गरेको ज्ञापन पत्रमा भनिएको छ । 

यति मात्रै नभएर महिला श्रमिकको चेन्जिंग रुम र शौचालयमा अनुचित हर्कतसहितको निगरानी गर्ने गर्नेको पनि ज्ञापन पत्रमार्फत आरोप लगाइएको छ । 

श्रम ऐन २०७४ ले निर्दिष्ट गरेका आधारभुत सुविधाहरुमा कार्यरत श्रमिकहरुलाई नियमित रोजगार पत्र नदिएको, उपदान/संचय कोष नपाएको, सामाजिक सुरक्षा कोषमा सुचिकरण नगरेको श्रमिकको गुनासो छ । समस्याको सम्बोधनका लागि निवेदन दिँदा उल्टै पूर्वाग्रह राखेर कार्यरत श्रमिकलाई अनावश्यक मानसिक दवाव दिने, बहाना बनाएर स्पष्टिकरण सोध्ने र जवाफ चित्त नबुझेको भन्दै रोजगारबाट निकाल्ने गरेको समेत श्रमिकको दु:खेसो छ ।

श्रम ऐन २०७४ को दफा १२५ को अधिकार प्रयोग गर्न माग गर्दै भदौ २४ गते शान्तिपुर्ण धर्ना बसेका श्रमिकलाई प्रहरी प्रशासन लगाएर धरपकड गराउने काम गरेको भन्दै युनियनले भत्सर्ना गरेको छ । भारत र नेपाल दुवै देशको नागरिकता भएका प्रा.ली.का सञ्चालक चौबेले छोटो समयमै अकुत सम्पती आर्जन गरेर महानगर क्षेत्रभित्र विभिन्न स्थानमा घर, घडेरी लगायतका साम्राज्यसमेत खडा गरेका छन् । 

यता प्राइम फर्मास्युटिकल्स प्रालीले श्रमिकहरुले लगाएको आरोप निराधार रहेको बताएको छ । कम्पनिका मधुरेन्द्र यादवले श्रमिकहरुमाथि कुनै किसिमको शोषण नभएको र महिला श्रमिकको चेन्जिंग रुम र शौचालयमा अनुचित हर्कतसहितको निगरानी गर्ने आरोप पनि नीराधार भएको दावी गरेका छन् ।

श्रमिकहरुले कम्पनिको नीति अनुसार काम नगर्दा कारवाही गरिएको निहुमा ट्रेड युनियनले यस्तो आरोप लगाएको यादवको भनाई छ ।

Back to top