×

वीरगञ्ज, २० साउन ।  जिल्ला प्रहरी कार्यालय पर्साले गत आर्थिक वर्ष २०७८/७९ मा लागु औषध सम्बन्धी कसूरका २ सय ३७ वटा मुद्दा दर्ता गरेको छ । साउन २०७८ देखि असार २०७९ सम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय पर्सामा २ सय ३७ वटा लागु औषध सम्बन्धी कसूरका मुद्दा दर्ता भएका हुन् । 

मंसिर महिनामा सबैभन्दा धेरै ३१ वटा मुद्दा दर्ता गरेको पर्सा प्रहरीले सबैभन्दा कम बैशाख महिनामा जम्मा ११ वटा मुद्दा दर्ता गरेको छ । ति सबै मुद्दामा ९ जना महिला र ३ सय ९ जना पुरुष गरी ३ सय १८ जना पक्राउ परेका छन् । 

सोही अवधिमा १ हजार ३ सय ५० किलोग्राम गाँजा बरामद गरेको पर्सा प्रहरीले २३ किलोग्राम चरेश बरामद गरेको छ । ५८ ग्राम हेरोईन, १३ किलो अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए । 

प्रहरी उपरीक्षक बस्नेतले यात्रा डेलीलाई उपलब्ध गराएको तथ्यांकअनुसार ५ हजार ३ सय ६० पिस फेनारगन, ४ हजार १ सय ६८ पिस डाईजिल्याब, ४ हजार २ सय ५३ पिस नुर्फिन, १५ हजार ६ सय ४२ पिस नाइट्रोभेट ट्याब्लेट र १ हजार ६ सय १३ पिस कोरेक्स बोत्तल बरामद गरिएको छ । 

१ वर्षको अवधिमा लागु औषधका मुद्दा धेरै हुनुले प्रहरी उपरीक्षक बस्नेतले चिन्ता व्यक्त गरेका छन् । लागु औषध दुव्र्यसन सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्दा पनि लागु औषधका मुद्दा बढेको भन्दै प्रहरी उपरीक्षक बस्नेतले सरोकारवालालाई गम्भिर हुन आग्रह गरेका छन् ।

देशका मेरुदण्ड भनिने युवाहरु लागु औषधको दलदलमा फस्दा राष्ट्रको नयाँ पुस्ता सक्षम र सबल बन्न नसक्ने भन्दै उनले सबलीकरण र व्यावहारिकरण शिक्षासँगै अनुशासन एवम् कर्तव्यनिष्ठ बनाउनुपर्नेमा जोड दिएका छन् । 
 

Back to top