×

वीरगञ्ज, २ जेठ । वीरगञ्ज महानगरपालिकाको उपप्रमुखमा ५ हजार ७ सय २१ मत बदर भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १, २, ३१ र ३२ गरी ४ वटा वडाको ९ हजार ५ सय ३८ मत गणना हुँदासम्म उपप्रमुखमा ५९.९८ प्रतिशत मत बदर भएको हो । 

अहिलेसम्म उपप्रमुखको ३ हजार ८ सय १७ मत सदर भएको छ । उपप्रमुखमा नेपाली कांग्रेस (रुख) बाट इम्तियाज आलम, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) (साइकल) बाट पुरुषोत्तमलाल झा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) (हलो) बाट बिना जैसवाल कुर्मी र स्वतन्त्र (गुलाफको फूल) बाट रम्भा मिश्रा उम्मेदवार छन् । तर उम्मेदवार नै नभएका चुनाव चिन्हमा अधिकांश मत परेको वीरगञ्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए । 

उनका अनुसार उम्मेदवार नभएको नेकपा एमाले (सूर्य), जसपा (ढल्केको छाता), माओवादी केन्द्र (हसिँया हथौडा), नेकपा एकिकृत समाजवादी (कलम) लगायतका चुनाव चिन्हमा पनि मत परेको हुँदा बदर मतको संख्या बढेको हो । 

त्यस्तै प्रमुखमा पनि २ हजार ५ सय ७१ मत बदर भएको छ । ६ हजार ९ सय ६७ मत सदर हुँदा प्रमुखको ३६.९ प्रतिशत मत बदर भएको हो । 

निर्वाचन आयोग चुकेको आरोप
मतदाता सचेतनासम्बन्धी कुनै कार्यक्रम नहुँदा मत बदरको संख्या बढेको शिक्षाविद् प्राध्यापक डा. दीपक शाक्य बताउँछन् । उनले भने, ‘विगतमा सञ्चालन हुँदै आएको मतदाता शिक्षा यसपटक अँझै गम्भिरताका साथ सञ्चालन गर्नुपर्नेमा निर्वाचन आयोग चुकेको जस्तो लाग्यो । गठबन्धन नभइदिएको भए मत बदर हुने थिएन । तर गठबन्धन भएपछि धेरै मतदाता झुक्किए ।’ 

वीरगञ्ज महानगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी रम्भा मिश्राले सदर भन्दा बदर मत बढी भएपछि उपप्रमुखको मत गणना रद्द गर्नुपर्ने माग गरेकी छिन् । निर्वाचन आयोग नै मतदाता शिक्षा सञ्चालन गर्न चुकेको हुँदा बदर मतको संख्या बढीरहेको मिश्राको आरोप छ । 

गठबन्धनका उम्मेदवार सिंहको अग्रता बढाउँदै 
पछिल्लो तथ्यांकअनुसार वीरगञ्ज महानगरपालिकाको प्रमुखमा पाँच दलीय गठबन्धनबाट जसपाका राजेशमान सिंहले अग्रतालाई बढाउँदै लगेका छन् । ४ वटा वडाको हालसम्म भएको मतगणनानुसार सिंहले ४ हजार ६ सय ५७ मत प्राप्त गरेर अग्रतालाई बढाउँदै लगेका हुन् । नेकपा एमालेका उम्मेदवार एवम् निवर्तमान मेयर बिजय कुमार सरावगीले २ हजार ५९ मत ल्याउँदा राप्रपाका उम्मेदवार गिरीश गिरीले १ सय ५० मत ल्याएका छन् । 
 

Back to top