वीरगञ्ज, २१ फागुन । नेपाली काङ्ग्रेस बाराको १४ औँ अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचन स्थागित भएको छ ।
व्यवस्थाकीय कमजोरीको कारण निर्वाचन अनिश्चितकालसम्मका लागि स्थगित गरिएको नेपाली काङ्ग्रेस बाराको निर्वाचन कार्यालयले जनाएको छ ।
लामो समयदेखि विभिन्न कारणले धकेलिँदै आएको जिल्ला कार्यसमिति चयनका लागि आज (शनिबार) भइरहेको निर्वाचनमा १६ सयको हाराहारीमा प्रतिनिधिले मतदान गरेपछि व्यवस्थापकीय कमजोरीका कारण स्थगित गरिएको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए ।
मतदान आज बिहान १० बजेदेखि सुरु गर्ने भनिएपनि दिउँसो १ बजेदेखि मात्र सुरु भएको थियो । आठ सयभन्दा बढी प्रतिनिधिले मतदान गर्न बाकी नै रहँदा निर्वाचन स्थगित भएको छ ।
निर्वाचन अधिकृत उप्रेतीका अनुसार हत्तार-हत्तारमा निर्वाचन गर्दा धेरै व्यवस्थापकीय त्रुटीहरु भएका थिए । "हामीले उम्मेदवारीहरुसँग तयारीका लागि कम्तिमा पनि थप एक दिन समय माग गरेका थियौँ । तर उहाँहरुले हत्तार गर्नुभयो", उप्रेतीले भने, "कयौँ कुराहरु नमिलेकै अवस्थामा हामी निर्वाचन प्रक्रियामा गयौँ र फल्सरूप १६ सय मत खसिसकेपछि हामीलाई निर्वाचन स्थगित गर्नुपरेको छ ।"
आज खसेको सबै मतसमेत बदर गरिएको र छिट्टै अर्को नयाँ मिति घोषणा गरिने उप्रेतीले जानकारी दिए । मत बदर भएसँगै निर्वाचनस्थल मै खसेका सबै मतलाई जलाइएको छ ।
अधिवेशनमा सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संस्थापन पक्षबाट शम्भु बहादुर बुढाथोकी र राजेशराय यादवले उम्मेदवारी दिएका छन् भने इतरको शेखर कोईराला पक्षबाट रामानन्द यादवले उम्मेदवारी दिएका छन् ।
काङ्ग्रेस बारामा कुल २ हजार ४ सय ८० मतदाता (प्रतिनिधि) छन् ।