×

बारा १० फागुन । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहवामा निर्माण गरिएको स्वास्थ्य चौकीमा व्यापक अनियमितता भएको स्थानीयले बताएका छन ।

गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अशोककुमार क्षेत्री, गाउँपालिका अध्यक्ष अमिरिलाल पाल भेडिहर, कार्यालयका योजना अधिकृत दिपकलाल पाल तथा उपभोक्ता समितिका अध्यक्ष मोकतार यादवको मिलोमतोमा निर्माण कार्यमा गुनस्तरहीन सामग्री प्रयोग गरिएको र मापदण्ड विपरीत निर्माण कार्य गरेर रकम अनियमितता गरिएको स्थानीय मनिर देवानले जानकारी दिनुभयो ।

स्वास्थ चौकीमा कमसल ईट, बालुवा, गिटीको प्रयोग भएको र परिमाणभन्दा कम माटो पुरेर करिव १४ लाख रुपैया हिनामिना गरिएको बताइएको छ । स्वास्थ चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष यादवले गाउँपालिका अध्यक्ष पाललाई ३० प्रतिशत कमिशन बुझाएर रकम भुक्तानी गरिएको देवानले बताउनुभयो ।

स्वास्थ चौकी निर्माण कार्यमा भएको अनियमितताको स्थानीयको विरोधका बाबजुद कुनै सुनवाइ नभएपछि छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा उजुरी समेत परेको छ ।

त्यसैगरी बिश्रामपुर गाउँपालिकाको नगवा डमिङ्गदेखि बिश्रामपुरसम्मको सडक कालोपत्रेमा समेत ठेकेदार र गाउँपालिकाका अध्यक्ष पालले अनियमितता गरेका छन । सडक कालोपत्रे गर्न करिव १ करोड ५० लाख रकम विनियोजित गरिएको भएपनि काम गुणस्तरहिन भएको भन्दै अख्तियार दुरुपयोगमा स्थानीयले उजुरी गरेपछि त्यसको अहिलोसम्म भुक्तानी रोकिएको छ ।

गाउँपालिका अध्यक्ष राउत भेडिहरले कार्यालयबाट भएका अन्य काममा पनि आफ्ना एक करोडसम्मको योजनामा नजिकका व्यक्तिहरुलाई राखेर उपभोक्ता समितिमार्फत काम गर्न लगाई करोडौंको भ्रष्टाचार गर्दै आएको स्थानीयले आरोप लगाउदै आएका छन ।

Back to top