वीरगञ्ज २७ माघ । वीरगञ्ज महानगरपालिकाले झन्डै सवा ६ करोडभन्दा पनि बढीको लगानीमा निर्माण गरेको अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र प्रयोगविहिन बनेको छ ।
अस्पतालबाट निस्किने विषाक्त फोहरलाई गैरविषाक्त बनाउन महानगरपालिकाले सुरुवात गरेको प्रविधियुक्त फोहर व्यवस्थापन केन्द्र "ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर" व्यवस्थापकीय जनशक्ति नहुँदा प्रयोगविहिन बनेको हो ।
वेस्ट म्यानेजमेन्ट सेन्टरको गत मंसिर २६ गते वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) विजयकुमार सरावगीले तामझामका साथ उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा मेयर सरावगीले सेन्टरको सुरुवातसँगै वीरगञ्जका अस्पतालबाट निस्किने विषाक्त फोहबरबाट अब जनताको स्वास्थ्यमाथि कुनै प्रतिकुल असर नपर्ने बताएका थिए । याद्द्पी दुई महिना बितिसक्दापनि वेस्ट म्यानेजमेन्ट सेन्टरको कार्यालयमा ताल्चा झुण्डी रहेको छ भने जडान गरिएका मेसिनहरु प्रयोगविहिन छन् । सरावगीले दिएका सबै प्रतिबद्धता कुरामा मात्र सिमित हुनपुगेका छन् ।
आवश्यक जनशक्ति र स्रोतको व्यवस्थापन नहुँदै मेयर सरावगीले नाम कमाउनका लागि हत्तार-हत्तारमा वेस्ट म्यानेजमेन्ट सेन्टरको उद्घाटन गरेको बुझ्न सकिन्छ । विषाक्त फोहरलाई गैरविषाक्त बनाउनु महत्वपूर्ण भएपनि आवश्यक जनशक्ति नहुँदै सेन्टरको उद्घाटन गर्नु नहुने आम सर्वसाधारणको बुझाई छ । तर, आफ्नो कार्यकालमा काम सम्पन्न भएको देखाउने होडबाजीका कारण जनशक्ति बिनानै मेयर सरावगीले सेन्टरको उद्घाटन गरेका हुन् ।
सेन्टरमा दुई दर्जनभन्दा बढी व्यक्तिले रोजगारी पाउने, वीरगञ्जका जनतालाई अब अस्पतालजन्य विषाक्त फोहरबाट छुटकारा पाउने र शहरको फोहर व्यवस्थापन थप राम्रो हुने जस्ता सपना बाडेका मेयर सरावगीको सबै वाचा झुठा सावित भएका छन् ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ नगवास्थित ल्यान्ड फिल्ड साईट परिसरभित्रै १२ कठ्ठा क्षेक्रलफल जग्गा अगोटेर करिब ६ करोड २२ लाख रुपैयाँको लगानीमा सेन्टर बनेको छ ।
वीरगञ्ज महानगरपालिकामा अस्पताल, पोलिक्लिनिक, डायगनोष्टिक सेन्टर, एक्स रे, क्लिनिक लगायतका गरी १ सय ७४ वटा स्वास्थ्य संस्था दर्ता छन् । त्यसबाहेक विना दर्ता मादण्ड बाहिर ३ सय भन्दा बढि स्वास्थ्य संस्था बाट दैनिक ४.७ मेट्रिक टन अस्पतालजन्य फोहोर निस्किन्छ । जसमध्ये २.७ मेट्रिक टन फोहोर विषाक्त हुने गरेको महानगरकै तथ्यांकले देखाउँछ ।
मेयर सरावगीले सेन्टरमा वीरगञ्जबाट निस्किने सबै प्रकारका अस्पतालजन्य विषाक्त फोहरलाई प्रसोधन गरेर गैरविषाक्त बनाइने बताएका थिए । उद्घाटनको समयमा जनशक्तिको व्यवस्थापन नभएसम्म ल्यान्ड फिल्ड साइटका ठेकेदारलाई नै अस्पतालजन्य फोहोर विसर्जन केन्द्र सञ्चालनको जिम्मा दिइने उनले बताएपनि त्यस्तो हुन् सकेको छैन ।
सेन्टर सञ्चालनमा नआउँदा अहिलेपनि वीरगञ्जको अस्पताल र अन्य स्वास्थ्य संस्थानबाट निस्केको फोहर महानगरपालिकाले अन्य फोहोरसँगै मिसाउने गरेको पाइएको छ । यसरी फोहर मिसाउँदा संक्रामक रोग फैलिने जोखिम हुन्छ ।
जनशक्तिको अभावमा सेन्टर सञ्चालनमा ढिलाई भएको वीरगञ्ज महानगरपालिकाले स्वीकार गरेको छ । फोहरमैला सम्बन्धी विज्ञ प्राइभेट फर्ममा नदेखिएको कारण नेपाल सरकारको ऐन अनुसार तत्कालै भर्ना गर्न नसकिएकोले सेन्टर सञ्चालनमा ढिलाई आएको महानगरको तर्क छ ।