वीरगञ्जस्थित हरिखेतान क्याम्पस अगाडि प्रदर्शन गर्दै नेविसङ्घका नेताहरु । तस्विर : सामाजिक सञ्जाल ।
वीरगञ्ज, १९ माघ । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवानप्रसाद यादवका विरुद्ध सुरु भएको आन्दोलन एकाएक सेलाएको छ ।
क्याम्पस प्रमुख डा. भगवानप्रसाद यादवले सामुदायिक शैक्षिक संस्था हरि खेतान बहुमुखी क्याम्पसलाई निजी सरह चलाएको आरोप लगाउँदै आन्दोलनमा उत्रेको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को आन्दोलन अचानकक सेलाएको हो ।
नेविसङ्घको ठाकुरराम बहुमुखी क्याम्पस एकाइ कमिटीले माघ २ गते ७ सुत्रीय माग राख्दै हरि खेतान क्याम्पसका प्रमुख डा. यादवलाई ज्ञापनपत्र बुझाएको थियो । ३ दिन भित्र मागहरु पूरा गर्नुपर्ने अल्टिमेटम दिएको नेविसङ्घले त्यसपछि पत्रकार सम्मेलन गरेर प्रमुख डा. यादवविरुद्ध चरणबद्ध आन्दोलननै घोषणा गर्यो ।
एकाइ कमिटीका अध्यक्ष मनोज साहले पत्रकार सम्मेलन मार्फत घोषणा गरेको आन्दोलनका कार्यक्रममध्ये क्याम्पस अगाडी धर्ना दिने र स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाउने बाहेकका कार्यक्रमहरु अघोषित रुपमा स्थगित भएका छन् ।
आन्दोलनको नेतृत्व गरिरहेका साहले जिल्लाका सम्पूर्ण राजनीतिक दलका प्रमुखलाई ज्ञापन पत्र दिने, घण्टाघरमा हस्ताक्षर कार्यक्रम सञ्चालन गर्ने, शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाउनेलगायतका कार्यक्रम अघोषित रुपमा स्थगित गरेका हुन् । कार्यक्रमहरु स्थगित हुनुको कारण बारे नेविसङ्घले आधिकारीक रुपमा कुनै जानकारी दिएको छैन ।
हरि खेतान क्याम्पसका प्रमुख डा. भगवानप्रसाद यादवका विरुद्ध नेविसङ्घले घोषणा गरेको आन्दोलन कार्यक्रम बारे जानकारी गराउन जारी गरिएको प्रेस विज्ञप्ती ।
क्याम्पसलाई एकलौटी ढङ्गले चलाएर प्रमुख डा. यादवले करोडौँ भ्रष्टचार गरेको, पारदर्शिता कायम नराखेको आरोपहरु लगाउँदै नेतृत्व परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने भाषणबाजी गरेका नेविसङ्घका नेताहरु अचानक ग्याब भएपछि यो विषयले अहिले वीरगञ्जमा चर्चाको पाइरहेको छ ।
नेविसङ्घले हरि खेतान क्याम्पसको व्यवस्थापन समितिसँग कुनै आन्तरिक सहमति गरेको हुनसक्ने धेरैले आशंका पनि जनाएका छन् । हुनपनि सुरुवाती चरणमा कडा रुपले प्रस्तुत भएको नेविसङ्घ अचानक सेलाएर जानु आफैमा आश्चर्यको कुरा छ ।
यता नेविसङ्घ ठाकुरराम बहुमुखी क्याम्पस एकाइ कमिटीका अध्यक्ष मनोज साहले आन्तरिक रुपमा काम भइरहेको कारण हाल केही दिनका लागि आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको बताए । "केही आन्तरिक कार्य हुँदैछ, त्यसपछि हामी शसक्त रुपले क्याम्पस प्रमुख डा. भगवान प्रसाद यादवका विरुद्ध पुन: उत्रिने छौँ," साहले यात्राडेलीलाई भने ।
साहका अनुसार क्याम्पस प्रशासन र विद्यार्थीहरु बीच छलफल गराउन पर्साका प्रमुख जिल्ला अधिकारीको प्रयास पनि डा. भगवान प्रसाद यादवका कारण बिथोलिएको छ ।
वीरगञ्जका उद्योगपति एवम् समाजसेवी बिहारीलाल खेतानले आफ्ना छोरा हरि खेतानको स्मृतिमा विक्रम संवत २०३८ सालमा त्रिवि विश्वविद्यालयबाट सम्बन्धन लिएर सामुदायिक क्याम्पसका रुपमा हरि खेतान क्याम्पस स्थापना गरेका थिए ।
त्यसपछि उक्त क्याम्पस, समुदायले नै सञ्चालन गर्ने गरि हस्तान्तरण गरेपछि झण्डै साढे ३ दशकदेखि डा. यादवले नीजी क्याम्पसका रुपमा एकलौटी गरि सञ्चालन गर्दै आएका छन् ।