×

वीरगञ्ज ११ माघ । लगभग दुई साताअघि एक १२ वर्षीय बालाकको हत्या गरेको अभियोगमा पर्सा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । 

गत पुष २३ गते जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठीका नागेन्द्रप्रसाद कुर्मीका १२ वर्षीय छोरा मन्टुको हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँका पाँच जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सोहि स्थानका ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय सत्रुधन प्रसाद यादव, ३० वर्षीय मनोमोहन प्रसाद यादव र २५ वर्षीय रोहण प्रसाद यादव रहेका छन् ।

मन्टुको परिवारबाट उनीहरुविरुद्ध किटानी जाहेरीको आधारमा प्रहरीले थालेको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले छिपहरमाई गाउँपालिका वडा नम्बर ६ भिष्वास्थित नेपाल भारत सीमाबाट माघ ८ गते पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

अभियुक्तहरुले पारिवारिक रिसइबीका कारण मन्टुको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको डिएसपी खनालले बताए । अभियुक्त र पिडित परिवार बीच चलिरहेको फौजदारी मुद्दामा बयान परिवर्तन गर्न दवाव दिने उद्देश्यले बालकलाई अपरहण गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको पर्सा प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी खनालले बताए ।

स्थानीयहरुका अनुसार दुवै परिवार बीच विचाराधीन अवस्थामा रहेको फौजदारी मुद्दामा मन्टुको परिवारमाथि दवाव बनाउन उनीहरुले मन्टुलाई सुरुमा मन्टुको अपरहण गरेका थिए । पछि पहिचान खुल्ने डरले मन्टुलाई हत्या गरेर खेतमा शव फालेका थिए ।

अभियुक्तहरुमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दा अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप गरेको डिएसपी खनालले बताए ।

मन्टुको शव पुष २३ गते गाउँकै उखुबारीमा फेला परेको थियो । चार दिनदेखि गायव रहेका बालकको शव उखुबारीमा एक महिलाले देखेपछि गाउँलेलाई जानकारी गराएकी थिइन् ।

घटनास्थलमा पुगेको प्रहरीले बालकको अपहरणपछि हत्या भएको प्रारम्भिक अनुमान गर्दै अनुसन्धान अगाडी बढाएको थियो । अनुसन्धानका क्रममा मन्टुका परिवारले ४ जनाविरुद्ध किटानी जाहेरी पनि दिएका थिए ।

Back to top