×

अमृता गैरे ।     सुनौला सपनाहरु सबैले बुनेका हुन्छन्, सबैको चाहना हुन्छ, मेरो जीवन सुख र खुशीले भरियोस् भनेर । तथापी खुशी र सुखी जीवन भने बिरैलेले मात्रै जिउँछन् भन्दा फरक नपर्ला । फेरी प्रश्न उठ्ला, खुशी र सुखी हुनका लागि सम्पती चाहिन्छ, धनी हुनुपर्छ भनेर । यद्यपी यो भ्रम हरकोहीलाई छ । तर धनी व्यक्तिहरु पनि यत्तिकै तनाव र समस्यामा हुने गरेको सत्य कसैसामु लुकेको छैन । 

हो सपनाहरुले सार्थकता पाउने ति भाग्यमानी व्यक्तिहरु पनि बिरलै मात्रै हुन्छन् । के अब धेरै व्यक्ति खुशी छैनन् ? सबै व्यक्ति सुखी छैनन ? यो प्रश्न उठ्नु स्वभाविक हो । अनि यो प्रश्न मात्रै नभएर हाम्रो समाजको यथार्थ पनि हो । सोचेको एउटा अनि भईदिन्छ अर्कै । सोचेको जस्तै भईदिए त दुःखी र निराश कोही पनि हुँदैन्थे होला । 

यसकै परिणामस्वरुप एक्लोपन, निराशापन जस्ता समस्याहरुले अहिले विकराल रुप लिँदैछ । डिप्रेशन पछिल्लो समय अधिकांश व्यक्तिमा देखा पर्ने समस्या हो । कसैलाई जानी जानी भने धेरै जना अन्जानमा पनि डिप्रेशनको सिकार भईरहेका छन् । बिहान उठ्ने बेला दिउँसोको समय तालिका निर्धारण गरिन्छ, अनि बिचमा सोही तालिकाविपरितका केही अरु काम र योजनाहरु आए भने पनि समस्या सृजना भईरहेको देख्न सकिन्छ । कुनै साना साना कुरादेखि लिएर ठूला कुराहरुले मानिसलाई सताईरहेको हुन्छ । 

घरको काम, आमा बुबासँगको झगडा, बिचार नमिल्ने साथीसँगको सङ्गत, पढाईमा मन नलाग्नु, प्रेम सम्बन्ध बिग्रिनु, कार्यालयको काम, कुनै किसिमको बिरामी, पारिवारीक समस्या लगायतका थुप्रै कारणहरुले मानिसलाई निराश बनाइरहेको हुन्छ । अनि त्यही समस्यालाई हामी ठूलो समस्या सोचेर तनाव लिने गर्छाैँ । जसका कारण सानो समस्याले पनि ठूलो स्वरुप बदलेको हामी आफैलाई थाहा हुँदैन । कसैलाई अभावका कारण तनाव हुन्छ भने कसैलाई दवावका कारण । यसका अलावा अरु पनि थुप्रै कारणहरु छन् डिप्रेशनका । 

सानो परिवारमा जन्मिएर ठूलो सपना देख्दैमा कसैको गल्ती हुँदैन । र ति सपनाहरु पूरा गर्नका लागि संघर्ष गर्नु अनि बिस्तारै सपनालाई पूरा गर्दै जानु पनि कुनै गल्ती हैन । तर यहाँ मान्छेहरु प्रतिक्षा गर्न सक्दैनन् । उनीहरुलाई आजको आजै नतिजा चाहिन्छ । संघर्ष भनेको रक्सी हैन, जतिबेला पिइयो त्यतीबेलै लाग्ने भन्ने कुरा बुझ्न सक्दैनन् । र प्रयास गरे पनि निरन्तरता नदिने र हरेस खाने परिपाटीले पनि धेरै जना डिप्रेशनबाट अछुत हुन सकिरहेका छैनन । 

बाहिर अरुले हेर्दाको जीवन र भित्र आफुले भोगीरहेको जीवनमा पनि भिन्नता हुन्छ । सँधै सफल हुन खोज्ने तर संघर्ष गर्न र धैर्य गर्न नसक्नुले डिप्रेशनको बाटोतर्फ प्रेरित गरीरहेको हुन्छ । 
मन र मस्तिष्कबिचको तादम्यता नमिल्नुले पनि मान्छेलाई निराश बनाइदिन्छ ।

हामी क्षणि खुशीमा आफ्नो जिन्दगीलाई बिलिन बनाउन प्रयत्न गरीरहेका हुन्छौँ । तर दीर्घकालिन खुशीको खोजीमा समय व्यतित गर्न चाँहदैनौँ । अनि जे गर्दा हामीलाई क्षणिक खुशी मिल्छ । त्यसैलाई हामीले जिन्दगीभरीको खुशी सोच्छौँ । जस्तै एकछिन टिकटक हेछौँ, पार्टीमा जान्छौँ, घुम्न जान्छौ यस्ता यावत कुराहरुले जतिबेलासम्म हामी त्यो काम गर्छाैँ त्यतिबेलासम्म मात्रै आनन्द प्राप्त गर्छाैँ । तर वास्तविक खुशी त्यो हैन । त्यसले हामीलाई दीर्घकालिन खुशी दिँदैन भन्ने कुरा बुझ्ने प्रयास गर्दैनौँ । 

सपनालाई पछ्याउने क्रममा हामी बिच बाटोमै रुमल्लीरहेका त छैनौ ? अनि हरेस खाएर गन्तव्यबिहिन यात्री जस्तै भएर आफुले आफैसँग सम्झौता गरीरहेका छौँ कि ? अरुको खुशीको लागि कतै आफुले आफैलाई समय दिन सकिरहेका छैनौ ।

सृटि पनि सुन्दर छ अनि सृष्टिकर्ता पनि अचम्मका छन् । यहाँ सबै मानिस एकै प्रकृतीको हुदैनन् । समस्याको समाधानतर्फ भन्दा पनि समस्यातर्फ ध्यान केन्द्रित हुँदा यसले हामीलाई तीब्र रुपमा मानसीक आक्रमण गर्छ । अन्त्यमा मानीस मानसीक रोगको शिकार बन्न पुग्छ । यसो हेर्दा तन्दुरुस्त देखीने मानिस भित्रभित्रै नदेखीने रोगले गालीसकेको हुन्छ । त्यसपछी एउटा साधारण ब्याक्त्ती सबैको नजरमा असाधारण र अनौठो देखीन थाल्छ । 

समस्या सबैलाई आफ्नै ठुला लाग्छन्, समस्यासँग जुधेर हिड्ने साहस सबैमा कहाँ हुन्छ र ? जोसँग धैर्यधारण गर्न सक्ने क्षमता हुन्छ, जसले जति प्रयास गरेपनि हरेस खाँदैन र सँधैभरी सकारातमक सोच्छ । ऊ मात्रै डिप्रेशनबाट टाढा रहन सक्छ । मानवइ धर्म निभाउन सक्ने र सहयोगी भावनाको विकास गर्न सकेमा खुशी रहन सकिन्छ । जसले अरुको खुशीमा आफ्नो खुशी देख्छ उसैले सुखी र खुशी जीवन जिउन सक्छ । 

हामीले हाम्रो दैनिकीलाई केही परिमार्जन गरेमा हाम्रो जीवन पनि परिवर्तन हुन्छ भन्नेमा कुनै दुई मत छैन । योग, ध्यान, व्यायाम लगायतका क्रियाकलापलाई पनि हामीले हाम्रो दैनिकीमा थप्न आवश्यक छ । जसले हामीलाई शारिरीक रुपमा मात्रै नभएर मानसिक र संवेगात्मक रुपमा पनि स्वस्थ बनाउँछ । 

विभिन्न उत्प्रेणात्मक भिडियो हेर्ने, जिवनमा आफुभन्दा पनि दुख र अभाव सहेर बाँचीरहेका अरु पनि धेरै छन् उनीहरुको अध्ययन गर्ने, समस्यालाई समस्याको रुपमा नहेरेर एउटा सीकाईको पाटोको रुपमा हेर्ने, आफुलाई सकेसम्म व्यस्त राख्ने, कसैबाट अपेक्षा नराख्ने बानीको बिकासले मनको पीर कम हुन सक्छ । अनि पिर भएन भने तनाव हुँदैन, तनाव हुँदैन भने निराशा छाउँदैन र हामी डिप्रेशनको शिकारबाट टाढा रहन सक्छौँ । 

Back to top