×

वीरगञ्ज, २१ मंसिर ।  दोहोरो नागरिकताको विषय वीरगञ्जवासीका लागि कुनै नौलो हैन । दोहोरो नागरिकताको भिडभित्र वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ महाविर गल्ली निवासी सञ्ज्य कुमार क्याल पनि परेका छन् । 

वीरगञ्जका रैथाने क्याल परिवारको ३ पुस्ते बंशज नागरिक भएपनि सञ्ज्यले दोहोरो नागरिकता बनाएको प्रकाशमा आएको छ । भारत बिहारको पूर्वी चम्पारणबाट मतदाता नामावलीमा उनको नाम अद्यावधिक रहेको देखिएपछि उनीसँग पनि दोहोरो नागरिकता भएको प्रकाशमा आएको हो । भारतबाट मतदाता नामवलीमा नाम कसरी आयो भन्ने प्रश्नमा सञ्ज्य क्यालले आफ्नो नाम अरु कसैले लेखाईदिएको र आफु यसबारे अनविज्ञ रहेको प्रतिक्रिया दिएर पन्छिए ।

यता जिल्ला प्रहरी कार्यालय पर्सामा गत चैतमा अनुसन्धानका लागि ७५ वटा दोहोरो नागरिकताका फाइल जिल्ला प्रशासन कार्यालय पर्साले पठाएको थियो । त्यसमध्ये ६८ जनाविरुद्ध नागरिकता ऐन सम्बन्धी मुद्धा दर्ता भईसकेको र बाहिरी जिल्लाबाट नागरिकता लिएका ७ जनालाई सम्बन्धीत जिल्लामै अनुसन्धानका लागि पठाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

प्रहरी नायब उपरीक्षक खनालकाअनुसार तत्कालिन प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्ले पठाएको फाईलमध्ये अनुसन्धान पूरा भएका ४ वटा फाईल जिल्ला अदालतमा पठाएपनि अरु फाईलमा अनुसन्धान हुने क्रम जारी छ ।  

हालका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पनि दोहोरो नागरिकता लिएको थाहा भएमा जानकारी गराउन आग्रह गर्दै कडाईका साथ अनुसन्धानलाई अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् । 
 

Back to top