वीरगञ्ज १६ सावन । यस वर्ष बर्खायामभन्दा पहिले देखि शुरु भएको वर्षातका कारण देशभर धनजनको ठूलो क्षति भएको छ।
पहिलेका वर्षहरुमा असार देखि भदौसम्म रहने वर्षायामको क्रममा पहाडबाट बग्ने नदीनालाहरुमा पानीको बहाव उच्च हुँदा तराई जलमग्न हुने गरेको थियो। तराईमा धनजनको ठूलो क्षति पुर्याउने गरेको थियो। तर यसपटक ठीक विपरित पहाडी क्षेत्रमा नै वर्षातले भीषण क्षति पुर्याएको छ ।
यस वर्ष असार २१ गतेसम्म देशभर ५३ स्थानमा बाढी आएकोमा १९ जनाको मृत्यु र २७ जनालाई बेपत्ता बनाएको पाइएको छ। यी मध्ये सबै भन्दा बढी बागमती प्रदेशमा क्षति पुगेको छ। १० स्थानमा आएको बाढीले ९२ वटा घर बगाउँदा बागमती प्रदेशमा मात्र ७ जनाको मृत्यु र २१ जना बेपत्ता भएका छन्।
यसवर्ष जेठ महिनादेखि नै शुरु भएको वर्षातका कारण साउन १० गतेसम्म देशभर १ सय ६७ स्थानमा पहिरो गएको छ। पहिरोसँगै पुरिएर ३२ जनाको मृत्यु भएको छ। त्यसैगरी ७ जना वेपत्ता बनाएको र ४९ जना घाइते भएका विपत पोर्टलले उल्लेख गरेको छ।
त्यसैगरी चट्याङ्गका कारण यो वर्ष साउन ५ गतेसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। धनजनमा क्षति पुर्याउने गरी कूल ३८ वटा चट्याङ् परेकोमा सबैभन्दा बढी १२ पटक प्रदेश २ का जिल्लाहरुमै छ। प्रदेश २ मा १२ पटक चट्याङ् परेकोमा ९ जनाको ज्यान गएको छ।
बीमा समितिका अनुसार बाढी पहिरोबाट पुर्याएको क्षतिको आंकडा धेरै भएपनि निर्जीवन बीमा कम्पनीहरुमा १ अर्ब ९२ करोड रुपैयाँ मूल्य बराबरको दाबी परेको छ।