तस्विर : सौरभ साह ।
वीरगञ्ज, १८ असार । ‘३ वर्ष अघि नाला बन्यो, आदर्शनगरसहितका अन्य स्थानका बासिन्दामा पनि खुशी छायो । अब त डुबान हुँदैन भनेर । तर त्यो खुशी धेरै बेर टिकेन । अँझ नाला बनेदेखि विगतको भन्दा बढी डुबानको समस्या झेल्नुपरेको बताउँछन्, वीरगञ्जको आदर्शनगरका व्यवसायी अभिषेक रुंगटा ।
कपडा र इलेक्ट्रोनिक्स सामानको खरिदबिक्रि गर्ने रुंगटालाई पानी परेको रात निद्रा लाग्दैन । उनी भन्छन्, ‘बेलुका पख मौसम सफा हुन्छ । पानी पर्ने छाँटकाँट देखिँदैन । पसल बन्द गरेर घर जाँदा राती पर्ने मुसलेधार वर्षाका कारण सामान क्षति हुने पिरले पिरोल्छ ।’ यो पिर रुंगटालाई मात्रै हैन, अर्का व्यवसायी ललित कुमार अग्रवालको पनि उस्तै पिर छ ।
वर्षेनी सामान, कार्पेट, फर्निचर गरेर वर्षाका कारण लाखौँ रुपैयाँ बराबरको नोक्सानी बेहोर्नुपरीरहेको अग्रवाल सम्झन्छन् । विग्रिएको सामान फाल्नुपर्ने अथवा खरिद मूल्यभन्दा कम मूल्यमा बिक्रि गर्नुपर्ने अग्रवाल, रुंगटासहितका सबै व्यवसायीहरुको साझा समस्या हो ।
मनसुन सुरु भएसँगै वीरगञ्जको मुख्य बजार आदर्शनगरका व्यवसायीहरु चिन्तित हुन्छन् । नालाको पानी सहज ढंगले निकास नहुँदा हरेक वर्ष आदर्शनगर क्षेत्र डुबानमा पर्छ । घर, पसल तथा गोदामभित्रै पानी पसेर लाखौंको धनमाल नष्ट हुन्छ । सामान्य अवस्थामा आदर्शनगरको पानी नाला हुँदै सिर्सिया नदीमा पुग्छ । तर सिर्सियामा पानीको सतह बढ्दा नदीको पानी आदर्शननगर तिरै फर्किने गरेको छ ।
वीरगञ्जमा रहेका विभिन्न नालाहरुको समयमा सफाई नहुँदा पानी बग्न नसकेपछि बजार क्षेत्रमा डुबान हुने गरेको व्यवसायीहरु बताउँछन् । वर्षौंदेखि नालाहरुमा जम्मा भएको प्लास्टिकजन्य फोहर र अन्य सामग्रीको समयमा सफाई नहुँदा पानीको निकास नभएर वीरगञ्जको आदर्शनगरसँगै रानीघाट, रामगढवा, श्रीपुर, राधेमाइ, पानीट्यांकी, चिनी मिल आवास क्षेत्र, नगवा लगायतका टोलहरुमा डुबान हुने गरेको छ ।
उचित ढंगले सफाई नहुनु र विभिन्न स्थानमा नाला अतिक्रमणको चपेटमा पर्नु पनि डुबान हुने थुप्रै कारणहरुमध्येको एक कारण हो ।
तत्कालिन वीरगञ्ज नगरपालिकाका मेयर पशुपति घोषले २०२५ सालमा गरेको टाउन प्लानिङ्ग अनुसार निर्मित नालाहरु कैयौँ स्थानमा अतिक्रमणको चपेटामा परेका छन् । केही स्थानमा त नालामाथि नै संरचना बनाइएको छ ।
स्थानीयहरुले नाला सफाईका लागि महानगरपालिकासँग पटक–पटक आग्रह गर्दा कुनै सुनुवाई नभएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको गुनासो छ । यस वर्ष पनि आदर्शनगरका व्यवसायीहरुले मनसुन सुरु हुनुभन्दा १५ दिन अगाडी नै नाला सफाई गरिदिन अनुरोध गर्दै महानगरपालिकालाई पत्र लेखेपनि महानगरले कुनै वास्ता नगरेको खेतानले बताए ।
खेतानका अनुसार वीरगञ्जका विभिन्न स्थानमा निर्माण गरिएको अण्डरग्राउण्ड नालामा भएको प्राविधिक त्रुटी पनि बजार क्षेत्रमा डुबान हुनुको अर्काे एउटा कारण हो ।
वीरगञ्ज डुबानमा पर्नुको कारण :
वीरगञ्जमा डुबानको समस्या नौलो होइन । तर यो समस्याबारे सबैले आ–आफ्नै ढंगले विश्लेषण गरेको पाइन्छ । अण्डर ग्राउण्ड नाला निर्माणपछि शहरी क्षेत्रमा जम्मा भएको पानीको सहज निकास हुने र डुबानको समस्या हट्ने विश्वास भएपनि त्यो विश्वासले सार्थकता पाउन नसक्दा अण्डर ग्राउण्ड नाला निर्माणको संरचनागत पक्षमाथि नै प्रश्न उठ्ने गरेको छ ।
‘सिर्सिया र सिंगहा नदीको अतिक्रमण नै वीरगञ्ज डुबान हुनुको प्रमुख कारण हो’, क्षेत्रीय शहरी विकास आयोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठ भन्छन् । यसैगरी, निर्माण भएको अण्डर ग्राउण्ड नालामा सर्वसाधारणले नकुहिने ठोस फोहोर फ्याँक्नाले पनि नाला जाम हुँदा डुबानको समस्या उत्पन्न हुने गरेको श्रेष्ठ बताउँछन् । नदीमा थुप्रिदैं गएको पदार्थले गर्दा पनि नदीको सतह बढ्नाले डुबानको समस्य निम्तिने गरेको उनको तर्क छ । उनको तर्क विश्वासयोग्य पनि छ । गुगल अर्थबाट इस्वी संवत २००५ सालको नदीको तस्विर हेर्दा र अहिलेको तस्विर हेर्दा नदी अतिक्रमणमा परेको र दुवैतर्फबाट साँघुरिएको प्रस्टसँग देख्न सकिन्छ । गुगल अर्थमा हेर्दा २००५ मा सिर्सिया नदीको चौडाई १५० फिट जती देखिन्छ । तर अहिले आएर ५० फिटमा खुम्चिएको छ । तथ्यांक अनुसार प्रत्येक वर्ष नदी नजिकै नयाँ–नयाँ संरचनाहरु निर्माण भएको देखिन्छ ।
तर सिर्सिया नदीको अतिक्रमण मात्र वीरगञ्ज डुबानमा पर्ने कारण नभएको विज्ञहरुको प्रतिक्रिया छ । उनीहरुका अनुसार यस क्षेत्रमा निर्माण गरिएका अण्डर ग्राउण्ड नालामै प्राविधिक त्रुटी हुँदा डुबान हुने गरेको छ ।
एसियन विकास बैंकको ऋण अनुदानमा वीरगञ्ज महानगरपालिका कार्यालयले ३ अर्बभन्दा बढीको लगानीमा मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार आयोजनाअन्तर्गत महानगरको आर्दशनगर, पानीट्यांकी, नेशनल मेडिकल कलेज रोड, टाउन हल चोक, लक्ष्मणवा, त्रिशुल चौक, श्रीपुर लगायतका ठाँउमा भूमिगत नाला र ढल निर्माण गरेको थियो । निर्मित सबै नालाहरुमा प्राविधिक त्रुटीका कारण वर्षातको समयमा सिर्सिया नदीमा पानीको सतह बढ्दा नाला मार्फत पानी ब्याकफायर हुँदै बजार क्षेत्रमा प्रवेश गर्ने गरेको इन्जिनियर मुन्ना सर्राफ बताउँछन् । समयसमयमा नदिको सफाई गर्नुपर्ने र नदिको अतिक्रमणलाई हटाउन सके डुबानको समस्याबाट केही राहत हुने सर्राफको भनाई छ ।
नाला निर्माण गर्ने समयमा नै जानकारहरुले महानगरपालिकालाई सचेत गराउँदा पनि त्यसलाई वेस्वास्ता गरिएको स्थानीय बताउँछन् । तर नाला निर्माणमा कुनै त्रुटी नभएको आयोजनाका व्यवस्थापक श्रेष्ठको दावी छ ।
महागरका मेयर सरावगीको प्रतिक्रिया :
सिर्सिया नदी र सिंगहा नदीको अतिक्रमण र बेस बढ्नुको कारण वीरगञ्ज डुबानमा पर्ने कुरामा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी पनि सहमत छन् । सिर्सिया नदीमा विगत दुई दशकमा भएको अतिक्रमणले नदी साघुरिंदै जाँदा डुबानको जोखिम बढ्दै गएको मेयर सरावगीको भनाई छ । २०२१/०२२ सालको नापि अनुसार जग्गालाई छुटयाएर नदिलाई निकालेपछि समस्या नहुने सरावगीको दावी छ ।
सरावगी भन्छन्, ‘सिर्सिया नदीको चौडाईलाई १५० फिटबाट अतिक्रमण गर्दागर्दै ठाउँ–ठाउँमा १५–२० फिटसम्म पु¥याइएको छ ।’ ‘नदीलाई नेपाल सरकारले राइट अफ वे (नदिलाई आफ्नो दिशामा आफ्नो गतिअनुसार बहन दिने अधिकार) पनि दिएको छैन । निजी जग्गा भएपनि नदीलाई त्यहाँबाट बग्न दिनुपर्छ तर नेपाल सरकारको नियममा त्यो छैन ।’
मेयर सरावगीले नदीको अतिक्रमण हटाउन आफूले संघ र प्रदेश सरकारलाई पटक–पटक समन्वय गर्न आग्रह गरेपनि कुनै सुनुवाई नभएको गुनासो गरे । ‘महानगर एक्लैको स्रोत साधनले सिर्सिया नदीको अतिक्रमण हटाउन सक्दैन, संघ र प्रदेश सरकारको समन्वय आवश्यक छ । पटक–पटक गुहार्दा पनि यस तर्फ कसैको चाँसो छैन ।’
पछिल्लो केही वर्षदेखि महानगरमा डुबान क्षेत्र बढ्नुको कारण समन्वय बिनाको सडक निर्माण भएको सरावगीले बताए । उनका अनुसार यहाँ बनेका व्यापारिक राजमार्ग र हुलाकी राजमार्गमा पानी निकासका लागि केही गरिएको पाइँदैन । पानी निकास नहुँदा वर्षातको समयमा ठाउँ–ठाउँमा पानी जमेर डुबान पर्ने गरेको उनको दावी छ । सरावगीले तत्कालका लागि महानगर क्षेत्र भित्र रहेका नालाहरुमा जमेको फोहरलाई सफाई गर्ने कार्य जारी रहेको बताए । नाला सफाई गरेपछि पानीको बहाव खुल्ने र महानगरवासीले केही भएपनि राहत पाउने उनको विश्वास छ ।
त्यसैगरी महानगरपालिकाले जोखिम क्षेत्रको छनोट गर्दै मानव क्षतिलाई न्यूनीकरण गर्न त्यहाँका बासिन्दालाई अन्यत्र सारेको उनले बताए । अहिले सिर्सिया नदी आसपासको क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारेर खाने, बस्ने व्यवस्था मिलाउन आफुहरु लागेको सरावगीको भनाई छ ।
हरेक वर्ष यसैगरी व्यवसायीहरुले नोक्सानी बेहोर्नुपर्ने र नगरवासी डुबानको चपेटामा पर्नुपर्ने अवस्थाको अन्त्यका लागि सरोकारवालाहरुले ठोस कदम चाल्नुपर्ने यहाँका स्थानीय बुद्धिजिवीहरुको माग छ ।
तस्विरहरु : सौरभ साह ।