×

वीरगञ्ज, ११ जेठ । चर्चित युवा हास्यकलाकार आदर्श मिश्रका पिताको निधन भएको छ । 

विगत ४ वर्षदेखि मृगौला रोगी आदर्शका पिता विनोद मिश्रको चीतवन जिल्लास्थित भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो । 

कोरोना सङ्क्रमण पुष्टि भएर नारायणी अस्पतालमा उपचार गराउँदै आएका मिश्रको डायलिसीसमा समस्या भएपछि थप उपचारका लागि हिजो साँझ भरतपुर लगिएको थियो ।

नारायणी अस्पतालमा कोरोना सङ्क्रमित मृगौला रोगिहरुका लागी छुट्याएर राखिएको डायलिसिस मेसिन बिग्रिएपछि उनको डायलिसिस समयमा हुन् सकेको थिएन । आदर्शका अनुसार उनको हप्तामा दुई पटक डायलिसिस गर्नुपर्ने हुन्थ्यो ।

आइतबार नारायणी अस्पताल पुगेका उनको मेसिन बिग्रिएका कारण डायलिसिस हुन सकेको थिएन ।

त्यसपछि विभिन्न सङ्घ संस्थाहरुको पहलमा सोमबार मिश्रको डायलिसिस भएपनि ४ घण्टा गराउनुपर्नेमा अढाई घण्टा मात्र गरिएको थियो । डायलिसिस पूरा गराउन आदर्शले उनलाई भरतपुर अस्पताल लगेको बताए । 

मिश्रको नारायणीमा डायलिसिस राम्ररी नहुँदा युरिया मस्तिष्कमा पुगेपछि उनको स्वास्थ्य अवस्था थप बिग्रिएको थियो ।

आदर्शले नारायणी अस्पतालको लापरवाहीका कारण बुवाले ज्यान गुमाएको बताएका छन् । उनले अस्पतालले डायलिसिस मेसिन समयमा नबनाउँदा आफ्नो बुवाले उचित उपचार नपाएको आरोप लगाए ।

उनले समय-समयमा नारायणी अस्पतालका कमी कमजोरीका बारेमा सामाजिक सञ्जालमार्फत जानकारी गराउने गरेका छन् । आदर्शले आइतबार बुवाको डायलिसिस नहुन सकेपछि एउटा फेसबुकमा एउटा भिडियो राख्दै डायलिसिस मेसिन नबने वीरगञ्जमा कयौँ मृगौला पिडितले ज्यान गुमाउनु पर्ने बताएका थिए ।

Back to top