×

वीरगञ्ज, १० जेठ । "म लास्ट दु:खको साथ् तपाईहरुलाई इन्फरम गर्न गइरहेको छु की नारायणी अस्पतालमा किड्नी इन्फेटेड कोभिड पेसेन्टहरुको जुन डायलिसिस भइरहेको थियो.... त्यो डायलिसिस जे होस् नहुने भएको छ अब, किनभने नारायणी अस्पतालमा दुईवटा डायलिसिस मेसिन थियो दुबै बिग्रिसक्यो," कोभिड सङ्क्रमित आफ्नो मिर्गौला पिडित बुवाको डायलिसिस गराउन आइतबार नारायणी अस्पताल पुगेका आदर्श मिश्रले सामाजिक सञ्जालमा एउटा भिडियो राख्दै दुखेसो पोखेका छन् ।

भिडियो बनाउनु आदर्शको रहर होइन । तर अन्य कोभिड सङ्क्रमित मिर्गौला पिडितले पनि आफुले भोगेको जस्तो पिडा भोग्न नपरोस भनेर उनले त्यो भिडियो बनाएको बताउँछन् । 

उनले डायलिसिस मेसिन नबने कयौँ मिर्गौला रोगि सङ्क्रमितले आफ्नो ज्यान समेत गुमाउने सक्ने बताएका छन् । अस्पताल प्रशासनसँग डायलिसिस मेसिन कहिलेसम्म बन्ने प्रश्न गर्दा कुनै ठोस जवाफ नआएको उनले सुनाए ।

मध्य तराईको सबैभन्दा ठूलो नारायणी अस्पतालमा अहिले डायलिसिस मेसिन बिग्रिदा मिर्गौला रोगी कोरोना सङ्क्रमितहरुको उपचारमा समस्या आएको छ । अस्पतालमा रहेको डायलिसिस मेसिनहरु एकपछि अर्को बिग्रिन थपेपछि मिर्गौला रोगीहरुका लागि अत्यावश्यक मानिने डायलिसिसमा समस्या आएको हो । चिकित्सक अनुसार समयमा डायलिसिसमा नहुँदा विरामीले ज्यानसमेत गुमाउन सक्छन ।

नारायणीमा रहेको ६ वटा डायलिसिस मेसिनमध्ये ४ वटा मात्र प्रयोगमा छन् । ४ वटा मेसिनमध्ये पनि सबै पूर्ण रुपले सञ्चालन गर्न सक्ने अवस्थामा छैनन् । अस्पतालका वरिष्ठ चिकित्सक डा. निरजकुमार सिंह अनुसार कोभिड सङ्क्रमितका लागि छुट्याइएको मेसिन पनि कामै नलाग्नेगरी केहि दिनदेखि बिग्रिरहेको छ । अस्पतालमा भर्ना ३ जना मिर्गौला रोगिको डायलिसिस कसरी हुन्छ भन्ने अन्योल छ ।

अस्पताल प्रशासनले दक्ष जनशक्ति नहुँदा मेसिनहरु समयमा बनाउन नसकिएको बताएको छ । मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विरेन्द्र बहादुर प्रधान अनुसार वीरगञ्जमा बायोमेडिकल इनिजियर नहुँदा बाहिरबाट मान्छे बोलाएर मेसिन बनाउनुपर्ने हुन्छ । मेसिन बनाउन पोखराबाट इनिजियरलाई बोलाइएपनि निषेधाज्ञाका कारण आउन नसकेको उनको तर्क छ ।

तर अस्पताल स्रोत अनुसार पछिल्लो पटक मेसिन बिग्रिदा आएका इनिजियरको भुक्तानी अहिलेसम्म नहुँदा उनीहरु यसपटक आउन अनकनाई रहेका छन् ।

डा. सिंहले नेशनल मेडिकल कलेजको बदमासीका कारण पनि नारायणी अस्पतालमा कोरोना सङ्क्रमित मिर्गौला रोगिहरुको डायलिसिसमा समस्या आएको बताउँछन् । उनका अनुसार नेशनल मेडिकल कलेजले कोरोना सङ्क्रमित मिर्गौला रोगिको डायलिसिस नगरी नारायणी अस्पताल पठाउँदा यहाँ चाँप बढेको छ ।

'डायलिसिस गराउन नेशनल मेडिकल कलेज पुगेका कोरोना सङ्क्रमित विरामीलाई अस्पतालले आफूकहाँ डायलिसिस नहुने भनेर नारायणी पठाउछ,' डा. सिंहले भने, 'यस्तो अवस्थामा पनि हामी मेसिनलाई पूर्ण क्षमतामा चलाएर दैनिक डायलिसिस गरिरहेका थियौँ, तर मेसिन बिग्रेपछि समस्या आएको छ । के गर्न सकिन्छ भनेर हामी छलफल गरिरहेका छौँ ।'

स्वास्थ्य मन्त्रलायले एउटा सूचना जारी गर्दै सबै अस्पतालहरुलाई भर्ना भएका सङ्क्रमितहरुको डायलिसिस गर्ने प्रावधान मिलाउन निर्देशन दिएको छ । तर नेशनल मेडिकल कलेजमा निर्देशन देखाउँदा पनि डायलिसिस गर्न नमानेको डा. सिंहको भनाई छ ।

डा. सिंहका अनुसार अस्पतालमा रहेको अन्य मेसिनलाई मिर्गौला रोगि कोरोना सङ्क्रमितको डायलिसिसमा प्रयोग गर्दा ननकोभिड रोगिहरुमा सङ्क्रमण सर्न जोखिम बढ्छ ।

यता, नेशनल मेडिकल कलेजले भने जिल्ला प्रशासन कार्यालयमा कोभिड-१९ सङ्कट व्यस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकमा भएको निर्णय अनुसार मिर्गौला रोगि कोरोना सङ्क्रमितको डायलिसिस गर्ने जिम्मा नारायणी अस्पतालले पाएको बताएको छ ।

अस्पतालका निर्देशक प्रा. डा. प्रमोद सर्राफले डीसीसीएमसीको बैठकमा भएको निर्णय अनुसार आफुहरुले काम गरिरहेको बताए । उनले नेशनल मेडिकलमा अहिले दैनिक ११ वटा मेसिनबाट ३० देखि ३५ जनासम्मको डायलिसिस भइरहेको जानकारी दिए ।

'३०-३५ जना ननकोभिड मिर्गौला रोगिको डायलिसिस हामी दैनिक रुपमा गर्दैछौँ । ४० जनासम्म अहिले क्युमा छन् । यहाँ ल्याएर कोभिड सङ्क्रमित मिर्गौला रोगिको डायलिसिस गरे सबैलाई सङ्क्रमण फैलन जोखिम हुन्छ,' डा. सर्राफले भने, 'त्यो अवस्थामा त् धेरैले ज्यान गुमाउनु पर्छ ।'

डा. सर्राफले नारायणी अस्पतालको कमजोरीका कारण डायलिसिसमा समस्या आएको बताए । उनले अस्पतालका चिकित्सकदेखि कर्मचारीहरुको लापरवाही र गैरजिम्मेवार व्यवहारका कारण मेसिन बिग्रेको आरोप लगाए । 'आफूले गर्न नसकेपछि सबै दोष नेशनल मेडिकलमाथि थुपार्ने बानी परेको छ,' उनले भने ।

अस्पतालको डायलिसिस मेसिन नबन्दा आदर्शका बुवा जस्ता कयौँ सङ्क्रमितले आफ्नो ज्यान गुमाउने जोखिम बढेको छ । 'अस्पतालले समयमा मेसिन नबनाउनुको दोष कसलाई दिने?' आदर्शले प्रश्न गरे, 'ठूला बडासँग पैसा छ, जहाँपनि गएर उपचार गराउन सक्छन । गरिव कहाँ जान्छ? यो देशमा गरिवको ज्यानको मूल्य छैन?'

दुई हप्तादेखि कोरोना सङ्क्रमित रहेका आदर्शका बुवालाई उनले आज भरतपुर अस्पताल लगेका छन् । नारायणी अस्पतालमा उपचार गराउँदा स्वास्थ्यमा सुधार नआएपछि बुवालाई भरतपुर लगेको उनले बताए ।

'नारायणीमा मान्छेलाई मारदिन्छन । सबै लापरवाह छन् । डाक्टर समयमा आउँदैनन्, नर्सहरुले राम्ररी पीपीईसमेत लगाउँन जानेका छैनन्,' आदर्शले भने, 'बुवाको अक्सिजन सपोर्ट बिना सेचुरेसन लेभल राम्रो भएको थियो । नारायणीमा भर्ना गरेपछि उल्टा बिग्र्यो । आफ्नो मान्छेको ज्यान प्यारो छ भने नारायणीमा नलग्नु होला ।'

Back to top