वीरगञ्ज ४ जेठ । पर्सामा कोरोनाभाइरस सङ्क्रमण (कोभिड-१९) सङ्क्रमणको दर घट्न थालेको छ । जिल्लामा सोमबार जम्मा ५८ जना नयाँ कोभिडका केस थपिएको नारायणी अस्पतालले जनाएको छ ।
नारायणी अस्पतालको पिसिआर प्रयोशालामा पर्सा, बारा लगायतका जिल्लाहरुको २ सय ८८ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा पर्साका ५८ जनासहित ९५ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।
पर्सामा पछिल्लो दिनहरुको तुलनामा सङ्क्रमणको दर घटेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । यसअघि आइतबार पनि २ सय ८८ जनाको परिक्षण गर्दा जम्मा ८८ जनामा कोरोना पुष्टि भएको अस्पताल डा. दासले बताए ।
डा. दास अनुसार यसअघि सोही मात्रमा परिक्षण गर्दा पर्साका १ सय ५० जनासम्म सङ्क्रमितहरु भेट्न गरेका थिए । अहिले आएर सङ्क्रमितहरु घट्नु शुखद कुरा भएको उनले बताए । सङ्क्रमणको दर आगामी दिनमा अझै घट्दै जाने उनि बताउँछन् ।
चैतको अन्तिम सातादेखि दोस्रो लहरको कोरोना चपेटमा परेको पर्सा जिल्लामा सङ्क्रमणको दर बैशाख महिनाभरी उत्कर्षमा रह्यो । बैशाखमा सङ्क्रमणसँगै मृत्यु दरपनि उकालो लागेको थियो । अहिले मृत्यु दर नघटे पनि आगामी दिनमा घट्दै जाने डा. दासले बताउँछन् । 'अहिले केहि दिन मृत्यु दर यस्तै रहनसक्छ तर त्यसपछि मृत्युको दर पनि ओराल लाग्दै जाने छ,' डा. दासले भने ।
निषेधाज्ञा र कोभिड प्रोटोकलको पालना सबैले राम्ररि गरिदिए सङ्क्रमण सून्यमा झर्न सक्ने उनको विश्वास छ ।
सोमबार थपिएका सङ्क्रमितमध्ये बाराका २१, रौतहटका ९ र सर्लाहीका ७ जना रहेका छन् । उनीहरु १४ वर्षदेख ८३ वर्षसम्मका रहेको र उनीहरुको सिटि भ्यालु १४.९ देखि ३५ सम्म रहेको डा. दासले जानकारी दिए ।