×

वीरगञ्ज, २० चैत ।  पर्साको पर्सागढी नगरपालिका वडा न. ५ बहुअर्वा टोलका स्थानीयले आफुहरुमाथी धार्मिक विभेद भइरहेको आरोप लगाएका छन् । 

लगभग ७० प्रतिशत मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त टोलका हिन्दु समुदायले जनप्रतिनिधि आएदेखि आफुहरुमाथि धार्मिक विभेद भइरहेको आरोप लगाएका हुन् । शुक्रवार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो क्षेत्रका स्थानीयले भर्खरै बितेको हिन्दु धर्मावलम्बीहरुको प्रमुख पर्व होलीमा पनि प्रहरी प्रयोग गरी हस्तक्षेप गरेको आरोप लगाएका छन् । 

नेपाल धर्मनिरपेक्षता राष्ट्र भएपनि टोलमा हिन्दु धर्मावलम्बीहरुले मनाउने हरेक चावाडमा मुस्लिम समुदायले हस्तक्षेप गर्ने गरेको स्थानीय नितिश मिश्राले बताए । ‘ ३ वर्षभन्दा बढी भयो, हामी हिन्दु समाजमाथी धार्मिक हस्तक्षेप हुन थालेको, हामीले गर्ने बिहेवारीमा पनि बाजागाजा बजाउन दिदैनन्, मिश्राले भने ।’ 

वडा न. ५ बहुअर्वाका वडाअध्यक्ष असलम आलमले होली गाउने समयमा गाउँको बिचमा रहेको मस्जिद नजिकैको बाटोमा प्रहरी खटाएर होली मनाउन पनि अवरोध गरेको अर्का स्थानीय सुनिल रायभरको भनाई छ । सुरक्षित रुपमा स्वास्थ्य सर्तकता अपनाएर मनाइने होलीमा पनि पहुँचको आधारमा सुरक्षाकर्मी नै परिचालन गरेर अवरोध खडा गर्नु धर्म तथा संस्कृतिमाथीको प्रहार भएको स्थानीय अग्रज जोगि रायभरले बताए । 

करिब डेढ किलोमिटर बहुअर्वामा दुवैतिर हिन्दु समुदाय र बिचमा बहुसंख्यक मुस्लिमहरुको बसोबास रहेको छ । एक गाउँबाट अर्काे गाउँमा होरी ( तराई मधेसमा होलीमा गाइने गीत) गाउँदै जाने क्रममा वडाअध्यक्ष आलमले आवतजावतमा रोक लगाएर आपसी सद्भाव र एकताको पर्वलाई प्रभावित बनाएको सोही टोलका शिवशरण महतोले बताए । 

गत वर्ष पनि होलीकै समयमा ढुंगामुढा प्रहार हुँदा ७ जना स्थानीय घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्सामा पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादव, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादव र लगायतको उपस्थितीमा भएको ५ बुँदे सहमति पनि कार्यन्वयन नभएको स्थानीय अजय साहले बताए । 

साहका अनुसार होली तथा बिहेबारीमा विवाहको बाजागाजामा अवरोध नगर्ने, धार्मिक स्थल तथा ब्रहमस्थानमा तोडफोड नगर्ने, हिन्दु समाजको गौतर पर्ति जग्गाको नाप नक्सा गरी छुट्याउने लगायतका सहमति भएपनि कार्यन्वयन हुन सकेको छैन । बहुसंख्यकको बलमा र पहुँचको आधारमा विगत ३ वर्षदेखी हिन्दु समाजमाथी मुस्लिम समुदायले दमन गर्दै आएको स्थानीय ३० जनाले हस्ताक्ष गरेका प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 

यता वडाअध्यक्ष आलमले भने दुवै पक्ष मिलेर होली मनाएको आफुमाथी लगाइएका आरोपहरु सबै निराधार भएको प्रतिक्रिया दिएका छन् । ‘मुस्लिम र हिन्दु समाज सँधै मिलेर बसेका छन्, धार्मिक सहिष्णुता कायम छ, यो कुनै राजनितिक रिसिवी साध्ने षड्यन्त्र हुन सक्छ, वडाअध्यक्ष आलमले बताए ।’ पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादव भने यो विषयमा अनविज्ञ छन् । 

Back to top