×

आजको २१ औं शताब्दीको युगमा प्रत्येक व्यक्ति तनावमा हुन्छ । एक अर्थमा भन्ने हो भने तनाव बिनाको जीवन अथवा मानिस नै छैन होला । काम, परिवारलगायत विभिन्न जिम्मेवारीका कारण अलि-अलि मानसिक तनाव हुनु स्वाभाविक पनि हो ।

कहिले काहिँ अचानक बढेको काम अथवा पारिवारिक समस्याका कारण अलि-अलि तनाव बढेको छ भने काम गर्न अथवा स्वास्थ्यमा त्यस्तो प्रतिकुल असर पर्दैन तर त्यही तनाव आवश्यकताभन्दा बढी हुँदै गयो भने त्यसले शरीरमा विभिन्न स्वास्थ्यको समस्या ल्याउँनसँगै 'डिप्रेससन' को रुपसमेत लिन सक्छ ।

तनाव आवश्यकताभन्दा बढी भयो भने निन्द्रा नलाग्ने, डर लाग्ने, विभिन्न किसिमको नकारात्मक सोचाईहरु मन मस्तिष्कमा उतपन्न हुने जस्ता समस्याहरु देखा पर्ने गरेका छन् । जसले समयसँगै डिप्रेसनको रुप लिँदै जाने गरेको पाइएको छ ।

सूचना प्रविधिको यस युगमा छोट समय मै धेरै काम गर्न खोज्ने युवाहरु आजभोलि यो समस्याबाट धेरै पिडित हुँदै गएका छन् । कम उमर भएको कारण बढी काम गर्दा पनि खासै फरक नपर्ला भन्ने सोच बनाका कारण उनीहरुले आफूमाथि तनाव थपिरहेका हुन्छन । जसले गर्दा उनीहरु थाह नहुँदै उच्च रक्तचापको सिकारसमेत बन्दै गएका हुन्छन् ।

सुरुमा रक्तचाप बढ्नुको कारण कामको बढी तनाव, आर्थिक समस्या, पारिवारिक समस्यालगायत कारण हुनेगरेका छन् । जसले गर्दा मुटुको घड्कन बढ्ने, स्वाँ–स्वाँ हुने, आत्तिने, निन्द्रा नलाग्ने जस्ता विभिन्न किसिमका समस्या देखिनथाल्छन् ।

यस्तो समस्याहरुको सिधा सम्बन्ध मुटुसँग हुनेगरेको छ । आफूले थेग्न नसक्ने तनाव हामीहरुले लिएरहेको कारण शरीरमा विभिन्न क्सिसिमको हर्मोन उत्पन्न भइरहेका हुन्छन । उत्पन्न भएका सबै हार्मोनहरुको सीधा असरमा मुटुमा पर्नेगर्छ ।

हामीले आफ्नो शरीरमा भइरहेका यस्ता समस्याहरुको वेवास्ता गर्यौं अर्थात् मानसिक तनावलाई कम गर्न सकेनौं भने त्यसले ठूलो समस्या उत्पन्न गर्न सक्छ । यस्तो अवस्थामा केहि समयका लागि भएपनि औषधि खानुपर्ने हुन्छ । औषधिले काम गर्यो भने क्रमस औषधिलाई बन्दपनि गर्न सकिन्छ ।

तनावले उच्चरक्तचापसँगै कोलेस्टोलर, सुगर, माटोपना जस्ता समस्यापनि हाम्रो शरीरमा थप्दै जान सक्छ ।

तनाव के कारणले हुन्छ ?

विशेषत हामीले दुई प्रकारका तनाव हर्ने गरेका छौँ । पहिलो अरुले दिएको दवाव, दु:ख र पिडाका कारण तनाव र अर्को हुन्छ आफ्नै कारणले भएको तनाव । अरुले दिएको तनाव हाम्रो नियन्त्रणमा हुँदैन तर आफूले आफैलाई दिने तनावलाई नियन्त्रण गर्न सकियो भने धेरै समस्याबाट हामी छुट्कार पाउँन सक्छौँ ।

व्यक्तिगत कारणले उत्पन्न हुने तनावमा हाम्रो नियन्त्रण हुन्छ । आफ्नो बानि, काम गर्ने प्रवृति र पारिवारिक समस्यालाई नियन्त्रण गर्न सक्यौँ भने तनाव नियन्त्रण गर्न सकिन्छ । हाम्रो बानि हुन्छ एकैपटकमा धेरै काम गर्न खोज्ने, धेरै महत्वाकांक्षा बोक्ने, परिवारमा भएको समस्यालाई हेल्चक्र्याई गर्ने, जसले गर्दा तनाव बढिरहेको हुनसक्छ ।

यस्तो भइरहँदा हामीले आफ्नो शरीरलाई चाहिने आवश्यक ध्यान दिरहेका हुँदैनौं । स्वास्थ्यभन्दा पनि हाम्रो ध्यान बढी काम तर्फ केन्द्रित हुन्छ । हामीलाई थाहै नभई तनाव थुप्रिंदै गइरहेको हुन्छ । जसले हाम्रीभित्र ब्लड प्रेसर, सुगर, मुटुमा असर गरिरहेको हुन्छ ।

यसको उपचार हामीले औषधिको माध्यमबाट गर्न सक्छौँ । केही समयका लागि हामीले चिकित्सकको सुझाव अनुसार उच्च रक्तचाप वा मुटुको धड्कन बढेको औषधि सेवन गर्न सक्छौँ । त्यसैले तनाव भएको खण्डमा हामीले चिकित्सकसँग परामर्श गर्न सल्लाह दिरहेका हुन्छौं । हाम्रो सानो गल्तिले ठूलो रुप लिनसक्छ ।

चिकित्सकलाई यदि हामीले तनावको मुल कारण बताउँन सक्यौँ भने त्यसलाई काउन्ससिलिङ मार्फतपनि निको गर्न सकिन्छ । काउन्ससिलिङबाट पनि तनाव घटेको र मान्छे ठिक भएको हामीसँग कयौँ उदाहरणहरु छन् ।

तर, हामीले आफ्नो तनाव व्यवस्थापन गर्न सकिरहेका छैनौँ भने औषधिको साहार लिनु बाहेक हामीसँग कुनै विकल्प छैन । 

तनाव घटाउँन हामीले आफैपनि धेरै कुरा गर्न सक्छौँ । जस्तै निन्द्रा नपुग्दा पनि तनाव सृजना हुनेगरेको पाइएको छ । त्यसैले तनाव नियन्त्रण गर्नका निमित्त राम्रो निन्द्रा आवश्यक हुन्छ । त्यसैगरी, दैनिक व्यायम र शारीरिक कसरतले पनि धेरै सहयोग गर्ने गरेको छ । हामीले नियमित शारीरिक व्यायम गर्यौँ भने ब्रेनमा विभिन्न किसिमका हर्मोन उपत्पन्न हुन्छ, त्यसले डिप्रेशन कम गर्ने, स्फूर्ति ल्याउँन सहयोग गर्छ ।

खानपानमा शाहाकारी कुराको बढी प्रयोग, आफूलाई मनपर्ने काममा समावेश गर्न, तनावको वातावरणबाट टाढा बस्ने, मनपर्ने साथीभाइसँग समय बिताउँने जस्ता काम गर्न सकियो भने अधिकांश व्यक्तिमा मानसिक समस्या घट्छ ।

मानसिक तनावले मुटुमा समस्या ल्याउछ भन्ने कुरा सोच्नुहुँदैन । किनभने यसले मुटुमै समस्या गराउने सम्भावना एकदमै कम छ । तनावले मुटु रोगको जोखिम भने बढाउँछ । त्यसैले सधै तनाव रहित जीवन बितानुपर्छ । 

(डा. मधु गुप्ता मुटुरोग विशेषज्ञ हुन्)

Back to top