वीरगञ्ज ३० मंसिर । चर्चित पोर्न वेबसाइट 'पोर्नहब' ले आफ्नो साइटबाट लाखौं भिडिओ हटाइसकेको छ । यस क्रममा भेरिफाइ नभएका प्रयोगकर्ताले राखेका भिडिओ हटाएको हो ।
दी गार्जियनको रिपोर्टअनुसार सोमबार आँकडाअनुसार यो एडल्ट साइटमा भिडिओको संख्या १ करोड ३० लाखबाट घटेर ४० लाखमा आइपुगेको छ ।
पोर्नहबमाथि नाबालक र सेक्स ट्राफिकिङको शिकार भएका पीडितहरूको भिडिओ हटाउन असफल भएको आरोप लागेको थियो । यसअघि न्यूयोर्क टाइम्सको एक रिपोर्टमा पोर्नहबको वेबसाइटमा ठूलो संख्यामा आपत्तिजनक र गैरकानुनी भिडिओ भएको दाबी गरिएको थियो ।
त्यपछि दुई ठूला क्रेडिट कार्ड कम्पनीहरू मास्टर्सकार्ड र भिजाले पोर्नहबमा भुक्तानीको कार्य नगर्ने घोषणा गरेका थिए ।
अब पोर्नहबमा कुनै पनि भिडिओ अपलोड गर्नका लागि प्रयोगकर्ताले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्नेछ । कम्पनीले पनि साइटमा भएका सबै सामग्रीका लागि भेरिफिकेसनको शर्त लागु भइसकेको दावी गरेको छ । तर, अन्य साइटहरू फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबले भने यस्तो नीति लागू गरेका छैनन् ।
दी गार्जियनको रिपोर्टअनुसार पोर्नहबको यो कदमसँगै लाखौं यौनकर्मी र मोडेल्सहरूको रोजीरोटीमाथि खतरा उत्पन्न हुन सक्छ । र, महामारीको कारण पहिल्यैदेखि समस्यामा परेका त्यस्ता यौनकर्मीको आर्थिक समस्या अझै बढ्ने भएको छ ।
पोर्नहबले उनीहरूलाई निशाना नबनाएको स्पष्टोक्ति दिँदै एडल्ट साइट भएकाले यो नीति लागू गर्न बाध्य भएको बताएको छ । रिपोर्टका अनुसार फेसबुकले आफ्नो प्लेटफर्ममा बाल यौन शोषणसँग सम्बन्धित ८ करोड ४० लाख सामग्री भेटिएको बताएको थियो । इन्टरनेट वाच फाउन्डेसनले पोर्नहबमा १ करोड १८ लाख सामग्री मात्रै त्यस्ता पाइएको बताएको थियो ।