×

वीरगञ्ज २३ असोज । लिङ्ग पहिचान गरी भ्रुण हत्या गराउन भुमिका खेल्ने आरोपमा एक जना स्वास्थ्यकर्मीलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ को छपकैयाँमा रहेको (शिवशंकर यादव) एसएस यादव क्लिनिकबाट भ्रुण हत्यामा भूमिका खेलेको आरोपमा प्रहरीले सिएमए नारद साहलाई पक्राउ गरेको हो ।

साहले एसएस यादव मेडिकलमा जाँच गर्न आउने महिलालाई नारायणी अस्पतालसँगै भएको छेउको गल्लिमा रहेको नेशनल प्याथोलोजिमा लगेर आफैंले अल्ट्रासाउण्ड गराउने र भ्रुण पहिचानपछि छोरी भए गर्भपतन गराउने गरेका उनीमाथि आरोप छ ।

सामान्य स्वास्थ्यकर्मीले अल्ट्रासाउण्ड गर्न नपाउने भएपनि सिएमए गरेका साहले क्लिनिकमा आउने महिलाहरुको अल्ट्रासाउण्ड आफैँ गर्ने गरेका थिए ।

साहले क्लिनिकमा आउनेहरुबाट पाँचदेखि सात हजार रुपैयाँसम्म लिएर लिङ्ग पहिचान गरिदिने गरेका स्रोतको दावी छ ।

छोरा वा छोरी छुट्याएपछि महिला वा उनीहरुको श्रीमानको आग्रहमा उनले गर्भपतन गराउने औषधी पनि उपलब्ध गराउने गर्थे । औषधीले नभए क्यूरेड गरेर गर्भपतन गराउन निजी क्लिनिकका चिकित्सकलाई पनि मिलाएका थिए । साह पक्राउ परेसँगै क्यूरेड गराउन संलग्न चिकित्सकको पनि अब छिट्टै पहिचान गरिने प्रहरीले जनाएको छ ।

वीरगञ्जको बहुअरीका शिवशंकर यादवको नाममा सञ्चालित एसएस यादव क्लिनिकमा साहले सबै क्रियाकलाप गर्ने गरेका थिए । स्रोत अनुसार क्लिनिक यादवको नाममा सञ्चालित भएपनि उनि आउने गरेका छैनन् ।

लकडाउनका बेला लिङ्ग पहिचान गराउन छिमेकी बजार रक्सौलमा जान संम्भव नभएपछि यादवको क्लिनिकमा लिङ्ग पहिचान गराउन आउने गर्भवती महिलाहरुको भिड नै लाग्ने गरेको स्थानीय बताउँछन् ।

आफूहरुले कतिपटक सम्झाउँदा पनि स्वास्थ्यकर्मी साहले नमानेको एक स्थानीयले बताए । पक्राउ परेका साहलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले त्यसतै मुद्दामा एक जना पक्राउ गरिएको जानकारी दिए । उनले एक व्यक्तिलाई पक्राउ गरिएको भएपनि अहिले अनुसन्धान चलिरहेको कारण थप विवरण उपलब्ध गराउन नमिल्ने बताए ।

नेशनल प्याथोलोजी ल्याबले त्यस्तो कुनै गतिविधि नहुने दावी गरेको छ । ल्याबसँग अल्ट्रासाउण्डको कुनै सरोकार नभएको बताउँदै आफुहरुलाई बद्नाम गराउन त्यस्तो षडयन्त्र गरिएको ल्याबले जनाएको छ ।

Back to top