×

वीरगञ्ज २२ असोज । पर्साका चिकित्सकहरुले आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरु ठप्प पार्ने चेतावनी दिएका छन् ।

स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १९ औं पटक अनसन गरिरहेका प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जका चिकित्सकहरुले भोलिदेखि आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरु ठप्प पार्ने चेतावनी दिएका हुन् ।

उनीहरुले डाक्टर गोविन्द केसीले उठाएका सम्पूर्ण जायज मुद्दाहरुलाई सरकारसँग यथाशीघ्र सम्बोधन गर्नुपर्ने माग गरेका छन् ।

नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जमा आबद्ध साढे ३ सयजना भन्दापनि बढी चिकित्सकहरुले वीरगञ्जमा सञ्चालित सम्पूर्ण निजि अस्पतालहरुमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम तय भएको चिकित्सक र संघका सदस्य डाक्टर दीपक चौरसियाले जानकारी दिए । वीरगञ्जमामा हाल दुई दर्जन अस्पतालहरु सञ्चालनमा छन् ।

चिकित्सकहरुले विगत १५ दिनदेखि धर्ना समेत दिरहेका छन् । उनीहरुले आजबाट २४ गतेसम्मका लागि २४ घण्टे रिले अनशनसमेत सुरु गरेका छन् ।

डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बनिरहँदापनि सरकारले उनको मागहरु प्रति कुनै चाँसो नदेखाएको आफुहरुलाई आन्दोलन गर्न बाध्य भएक डाक्टर चौरसियाले बताए ।

संघका अध्यक्ष डाक्टर अरुणकुमार सिंहले सरकारले अहिले डाक्टर केसी पक्षसँग सुरु गरेको वार्ता सफल भए आफुहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिने जानकारी दिए ।

चिकित्सा शिक्षाशास्त्रमा सुधार तथा विगतका सम्झौता कार्यान्वयनमा नेपाल सरकारले बेवास्ता गरेपछि डा केसीले २४ दिनअघि हुम्लाबाट अनशन शुरू गरेका थिए । उनको ब्लडप्रेसर लो र डिहाइड्रेशनले शारीरिक अवस्था जटिल बन्दै गएपछि देशभरका चिकित्सक, स्वास्थ्यकर्मी, सचेत नागरिक आन्दोलित भएका छन् ।

Back to top