×

वीरगञ्ज २३ असोज । वीरगञ्ज महानगरपालिका कार्यालयले आफ्नो क्षेत्र बाहिर गएर करको उठाएको आरोप लागेको छ ।

महानगरपालिका कार्यालयले आफ्नो क्षेत्र बाहिर गएर सवारी साधनसँग वार्षिक र पटके कर संकलन गर्न एउटा निजि निर्माण कम्पनिलाई ठेक्का दिएर कर उठाइरहेको व्यवसायीहरुले आरोप लगाएका हुन् । महानगरपालिका कार्यालयले सडक बोर्डको आग्रहलाई समेत वेवास्ता गर्दै कर उठाएको वीरगञ्ज उद्योग वाणिज्य संघको आरोप छ ।

त्रिभुवन राजपथ अन्तर्गत पर्ने परवानीपुर–वीरगञ्ज र परवानीपुर–आईसीपी सडकखण्डको विभिन्न स्थानमा वीरगञ्ज महानगरपालिकाले निजि कम्पनि आर्यन कन्स्ट्रक्सनलाई कर उठाउने ठेक्का दिएको छ ।

ठेक्का पाउने कम्पनीले प्रत्येक पटक सवारी साधन अनुसार ३ सय देखि ५ सयसम्म शुल्क लिइरहेको छ । सडक वोर्ड अन्तर्गतको यो सडकमा अरु निकायले कर असुल गर्न नपाउने कानुनी व्यवस्था भएपनि वीरगञ्ज महानगरपालिकाले कर असुलिरहेकामा बोर्डले असन्तुष्टि समेत जनाएको छ ।

बोर्डका प्राविधिक निर्देशक इन्जिनियर सागर ज्ञवालीले गत चैत १५ गते महानगरपालिकालाई पत्र समेत पठाएरमा कुनै किसिमको कर उसुली नगर्न आग्रह गरेका थिए ।

बोर्डको आग्रह वावजुदपनि महानगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा सवारी साधनसँग वार्षिक र पटके कर संकलन गर्नका लागि आर्यन कन्स्ट्रक्सनसँग वार्षिक रुपमा चार करोड ९० लाख एक रुपैयाँको सम्झौता गरेको थियो ।

अहिले आर्यन कन्स्ट्रक्सन अनाधिकृत रुपमा सवारी साधनसँग दैनिक लाखौँ कर असुली गरिरहेको स्थानीय व्यवसायीहरुले दु:खेको पोखेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले महानगरपालिका आफ्नो आधिकार क्षेत्र बाहिर गएर कस असुली गरिरहेको बताएका छन् । उनले महानगरपालिकाले मनोमानी ढंगबाटगण्डक नहर चोक, रजत जयन्ती चोक र हिमाल आइरन गेट अगाडीबाट सवारी साधनसँग दैनिक ३ सयदेखि ५ सयसम्म कर उठाएर दैनिक २ लाखसम्म संकलन गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

राजपालले महानगरपालिकालाई यस बारे पटक-पटक आग्रह गर्दापनि कुनै सुनुवाई नभएको गुनासो गरे । 'हामीले समस्या बारे महानगरपालिकाको प्रतिनिधिदेखि कर्मचारी समेतसँग धेरै पटक आग्रह गर्यौं तर हाम्रो कुनै सुनुवाई भएन, अहिले बाध्य भएर यो कुरा बाहीर ल्याउनु परेको छ ।'

राजपालले ठेकेदार कम्पनीलाई वार्षिक रुप एकैपटक कर बुझाउन खोज्दा समेत कम्पनिले आनाकानी गरेको बताए ।

'ठेकेदारले वार्षिक शुल्क नलिई पटके शुल्क मात्र लिइरहेको छ । वार्षिक कर लिन नमान्दा व्यवसायी एकै दिनमा ३/४ पटकसम्म कर तिर्न बाध्य छन्,' राजपालले भने, 'पटके सवारी कर बुझाउन जाँदा ठेकदारले विभिन्न बहाना गर्छ, यहाँ व्यवसायीलाई दु:ख दिने काम मात्र भइरहेको छ ।'

महिनामा एक–दुई पटक समान ढुवानी गर्ने सवारी साधनलाई पटके करले समस्या नभए पनि एकै दिन पटक पटक सामान ओसाने सवारी साधनलाई आर्थिक भार परेको उनले बताए ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले भने समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् । ‘ठेकेदारलाई सम्झौताको व्यवस्थाअनुसार अघि बढ्न भनिसकेका छौं’ उनले भने ‘सम्झौता विपरीत काम गर्न उनीहरुले मिल्दैन ।’

राजमार्गमा पटके कर उठाएको सवालमा उनले त्यसो नगर्न निर्देशन दिइसकेको बताए । ‘त्रिभुवन राजमार्गको समेत मर्मत सम्भार महानगरपालिकाले नै गरिरहेको छ । तैपनि हामीले राजमार्गमा सवारी व्यवस्थापन शुल्क नलिन भनेका छौं’ नगर प्रमुख सरावगीले भने ।

तर ठेकेदार पक्षले भने दिनमा तीन पटकसम्म समान ओसार्ने गाडीसँग वार्षिक दस्तुर लिँदा ठेक्काको रकमसमेत नउठ्ने बताउँछ । तैपनि महानगरपालिकासँग भएको सम्झौता अनुसार वार्षिक शुल्क लिएको ठेकेदार कम्पनीका प्रतिनिधि विनोद पटेलले बताए ।

‘वार्षिक शुल्क बुझाउनेहरुको लिएका छौं’ उनले भने ‘कोरोना महामारीका कारण सवारी साधन राम्रोसँग नचलेकोले विषम परिस्थितिको बारेमा ध्यान दिन महानगरपालिकालाई भनिरहेका छौं ।’

 

 

 

 

 

 

 

Back to top