×

हामी आज एक्काइसौं शताब्दीको आधुनिक अवस्थामा भएकोमा गर्व गर्छौं र हाम्रा पुर्खाले चलाएको कतिपय अन्धविश्वास माथि पनि खुलेरै विरोध गर्न सक्ने भएका छौं । कुष्ठरोग लाग्दा होस वा अपाङ्ग बच्चा जन्मिदा, घनघोर जङ्गलमा लगेर एक्लै छाडी आउने गरेको चलन प्रति आजका हामी सबैको घोर भर्त्सना छ भन्न हामी कतै पनि कन्जुस्याइँ गर्दैनौं । तर के आजका हामी बदलिएका छौँ त ? हामीले पाएको शिक्षालाई हामीले साच्चिकै प्रयोग गरेका छौँ त ?

हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस तपाईं हामी जो सुकैलाई पनि ढिलोचांडो लाग्न सक्ने सम्भावना बढेर गएकै छ ।

अर्को कुरा यो भाइरसले आक्रमण गर्ने बित्तिकै मरिने पनि हैन भने सामान्य हेलचेक्र्याइले समेत ज्यान लिने पनि गरेको देखिएको छ । विश्व स्वास्थ सङ्गठनले तोकेको मापदण्ड पालना गर्दै एउटै घरमा बस्ने हो भने पनि यो रोग नसर्ने गरेको उदाहरणहरु प्रसस्त भेटिएका छ्न ।

समाजका बुझेका भनिएका मानिसहरुसमेत यो रोग लागेका आफ्ना छिमेकीलाई गाउँ छाड्न दवाव दिन्छन, मानशिक तनाव दिन्छ्न । यतिमात्र हैन सङ्क्रमितका स्वस्थ परिवारलाई समेत तनाव दिन छाड्दैनन ।

सङ्क्रमितलाई निरोगी बनाउने कुनै खोप आधिकारिक रुपमा नआएको यो परिवेशमा एन्टिबडी बढाउने पुरक औषधिहरु दिनु बाहेक हालसम्म अर्को विकल्प छैन । अर्को कुरा सङ्क्रमितलाई हौसला दिएको खण्डमा शरीरले आफै पनि एन्टिबडी धेरै उत्पादन गर्ने गरेको कुराहरु बेलाबखत बाहिर आउने गरेकै छ ।

सकिन्छ भने सङ्क्रमित छिमेकीलाई पोसिलो खानाहरुका साथै परम्परागत रुपमा प्रयोग गरिदै आएको जडिबुटीहरु पुर्याएर सहयोग गरौँ, सकिँदैन भने हेला होचो गर्ने काम पनि नगरौं ।

काल तपाईं हामी बिच नजिकै छ । सामान्य असावधानिले हाम्रो ज्यान लिन सक्ने एलपिजी ग्यांसमा हामी सबैले खाना पकाउंछौं, केही सेकेन्डमै ज्यान लिने बिजुली प्रयोग गर्न हिच्किचाउंदैनौं भने सावधानिका साथ सङ्क्रमितसंग मानवताको व्यवहार गर्न किन सक्दैनौं ?

अहिले मान्छे देखि मान्छे डराएर भागि रहेको देखिन्छ । के यसरी डराएर भाग्नै पर्ने अवस्था निम्तिएको हो र ? पक्कै पनि यसरी डराएर भाग्नु उचित होइन । बरु आवश्यक सावधानी अपनाउँदै संक्रमितहरुलाई हौसला बढाउने काममा लाग्नु उचित रहन्छ । होइन भने मानिस रोगले होइन कि सामाजिक सोचले कमजोर पार्ने अवस्थामा पुर्‍याइदिएको छ ।

कोभिडकै कारण गएको ६ महिनादेखि देश पुरै ठप्प छ । बजार चलेको छैन । कलकारखाना सिमित मात्रामा चलेका छन् । यातायातका साधन ठप्प हुँदा एक ठाउँबाट अर्को ठाउँ जान सकिने अवस्था छैन ।

यसले अर्थव्यवस्थामा नराम्रो असर त पारेकै छ । अर्को तर्फ सामाजिक र मानसिक रुपमा पनि निकै क्षति पुर्‍याएको छ । ठूलो लगानी गरेर संचालन गरेका उद्योग कलकारखाना होस वा सानै लगानीमा सुरु गरिएको पसल नै किन नहोस लगातारको बन्दका कारण व्यापार ठप्प हुँदा दैनिकी गुजार्न मुस्किल हुँदै गएको छ ।

रोजगारी गर्ने कयौँको रोजगार खोसिएको छ । बजार पसल नै नखुलेपछि रोजगार दाताले पनि रोजगारी दिएर राखिरहन सक्ने कुरा पनि भएन । एक त उनीहरुको लगानी डुब्ने अवस्थामा पुगेको छ अर्को तर्फ श्रमिक पालिरहनु पर्ने बाध्यताले कयौँ रोजगारदाताहरु मानसिक तनाबमा पुगिसकेका छन् ।

यो बन्दाबन्दीका कारण सबैभन्दा ठूलो मार दैनिक ज्यालादारी गरेर गुजारा गर्नेहरुलाई परेको छ । अहिले उनीहरुको चुल्हो निभ्ने अवस्थामा छ । एक छाक खाएर दिन काट्नु पर्ने अवस्था आएको छ । यस्तो बेलामा उनीहरुलाई सहयोग गर्नु जरुरी छ । लगातारको बन्दाबन्दीले मान्छे रोगले नभई भोगकले मर्न सक्ने अवस्था निम्त्याइदिएको छ ।

Back to top