वीरगञ्ज ३० श्रावण । कोरोना ‘हटस्पट’ बनेको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट र रिएजेन्ट अभावले दुई दिनसम्म स्वाब परीक्षण प्रभावित बन्यो । प्रयोगशालाले बुधबारदेखि अर्को व्यवस्था नभएसम्म कुनै पनि नमुना परीक्षण गर्न नसकिने भन्दै सूचना नै टाँस्यो ।
साउन २६ र २७ गते आइपुगेका विभिन्न जिल्लाका नमुनासमेत परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको सूचनामा उल्लेख छ । ५ दिनअगाडिदेखि नै पीसीआर किट माग गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।
पीसीआर किटको अभावमा अस्पतालले मंगलबार ११ सयभन्दा बढी स्वाबको नमुना काठमाडौं पठाएको थियो । ‘सरोकारवाला निकायलाई अग्रिम जानकारी गराउँदा पनि समयमै पीसीआर किट आइपुगेन,’ एक चिकित्सक भन्छन्, ‘यसले देखाउँछ, महामारीको बेला राज्यसंयन्त्रको काम कस्तो छ ?’ बारा र रौतहटमा संकलन गरिएका स्वाब पनि यहाँको प्रयोगशालामा परीक्षण हुँदै आएको छ । तर यहाँ रिएजेन्ट, पीसीआर किट अभाव छ ।
बुधबार राति ११ बजे मात्रै काठमाडौंबाट पीसीआर किट आइपुगेको नारायणी प्रयोगशाला प्रमुख डा. निरा पाठकले जानकारी दिइन् । ‘नयाँ रि–एजेन्ट आउँदा त्यसलाई भ्यालिडेसन गर्नुपर्ने हुन्छ । केही पोजिटिभ र केही निगेटिभ स्याम्पल लिएर भ्यालिडेसन गर्यौं,’ उनले भनिन्, ‘स्याम्पलहरू रि–रन भइसक्यो ।’ रि–एजेन्ट नहुँदा दुई दिन काम प्रभावित भयो । प्रयोगशालामा दैनिक करिब ५ सय स्याम्पल टेस्ट हुने गरेको उनले बताइन् ।
प्रदेश २ मै पीसीआर किट अभाव रहेको छ । प्रदेश आपूर्ति निर्देशानलय प्रमुख डा. प्रमोद यादवका अनुसार पीसीआर किट केन्द्र सरकारबाटै आउने गरेको छ । ‘अभाव हुन थालेपछि प्रदेश सरकार आफैंले ५० हजार पीसीआर किट खरिद गर्ने योजना अगाडि बढाएको छ,’ डा. यादवले भने, ‘सप्तरी र जनकपुरको प्रयोगशालमा एउटा/एउटा पीसीआर मेसिन थप्ने र रौतहटमा पीसीआर मेसिन स्थापना गरिनेछ ।’
तीन सातादेखि अस्पताल बन्द
गत साउन ९ देखि नारायणी अस्पतालको आकस्मिकबाहेक अन्य सबै सेवा बन्द छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारी तथा अन्तरंग विभागमा भर्ना भएका बिरामीलाई समेत कोरोना देखिएको भन्दै निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुरेन्द्रप्रसाद चौधरीले सूचना जारी गरी आकस्मिक सेवाबाहेकका अन्य सबै सेवा बन्द भएको जनाएका थिए । त्यसयता अस्पतालका चिकित्सकसहित ५१ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ । जनशक्ति अभाव भएपछि करिब २० दिनअगाडि नै स्वास्थ्य मन्त्रालय र विभागमा जानकारी गराइएको मेसु डा. उपाध्याय बताउँछन् ।
अस्पताल सञ्चालनका लागि १० जना मेडिकल अधिकृत, ४ जना फिजिसियन, १४ जना नर्सिङ स्टाफ, ४ जना कार्यालय सहयोगी र ६ जना सरसफाइ कर्मचारी माग गरिए पनि स्वास्थ्य विभागले हालसम्म
दुई जना नर्सिङ स्टाफ पठाइदिएको डा. उपाध्यायले बताए । स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित हुँदा अस्पतालको सेवा सञ्चालनमा मात्र कठिनाइ भएको छैन, कोरोना अस्पताल व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको छ ।
नारायणी अस्पताल सञ्चालनमा नहुँदा बिरामीले सहज उपचार पाउन सकेका छैनन् । ज्वरो, खोकी र झाडापखालाका बिरामीलाई निजी अस्पतालले भर्ना लिन मानेका छैनन् । पछिल्लो ६ दिनमा उपचार नपाएर वीरगञ्जमा ४ जनाको मृत्यु भइसकेको छ । मृतकका आफन्त र स्थानीयले अस्पताल र चिकित्सकको विरोधमा प्रदर्शनसमेत
गरेका छन् । नारायणी अस्पतालको परिसरमा रहेको कोरोना बुथ र एक जना चिकित्सकको कारमा तोडफोड भएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले एक वडा सदस्यसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । वैशाख र जेठमा भर्ना भएका कोरोना संक्रमित डिस्चार्ज भएपछि नारायणी अस्पतालमा फेरि जनरल सेवा सुरु भएको थियो । हाल दुईवटा निजी अस्पताल नारायणी अस्थायी कोरोना अस्पतालको नाममा सञ्चालनमा ल्याइएको छ ।
संघीयतामा पनि काठमाडौंकै आस
साउन १५ मा पर्साका प्रमुख राजनीतिक दलले वीरगञ्जमा कोरोना रोकथाम र नियन्त्रणका लागि विज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको विशेष टोली वीरगञ्ज पठाउन सरकारसँग माग गरेका थिए । साउन १८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली पठाएको थियो । नारायणी अस्पताल स्रोतका अनुसार मेसु डा. उपाध्यायले उच्चस्तरीय टोलीलाई जनशक्ति अभाव र कोरोना अस्पताल व्यवस्थापनको समस्याबारे अवगत गराएका थिए । उक्त टोली फर्किएको १० दिनभन्दा बढी भइसक्दा पनि कुनै सुधार भएको छैन ।
वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका उपप्रध्यापक वीरेन्द्रप्रसाद साह मुलुक संघीयतामा गए पनि संविधानअनुसार संरचना निर्माणमा कसैको ध्यान नगएको बताउँछन् । ‘संघीयतामा गए पनि व्यावहारिक हिसाबले सबै संरचना बनिसकेका छैनन्,’ उनले भने, ‘बनाउन कसैको ध्यान पनि गएको देखिँदैन ।’ सरकार नागरिकप्रति गैरजिम्मेवार भएर प्रस्तुत भएको उनको बुझाइ छ । ‘यता मान्छे मरिरहेका छन्, अस्पतालमा बेड अभाव छ, त्यसमा कुनै चिन्ता छैन,’ उनले भने, ‘तर, सरकार प्रमुख मेयरलाई बोलाएर राम–सीताको मन्दिर बनाउन निर्देशन दिन्छन् । वीरगञ्जको स्थिति सोचेभन्दा बढी खराब छ ।’ हालको संकट व्यवस्थापनका लागि उनले स्थानीय तहमा संयन्त्र बनाउन आवश्यक रहेको सुझाए ।
नारायणी अस्पतालका चिकित्सक डा. निरजकुमार सिंह चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन स्थानीय सरकारले पनि गर्न सक्ने बताउँछन् । ‘कोरोना उपचारमा हालसम्म निजी अस्पतालमा कार्यरत चिकित्सकलाई संलग्न गराइएको छैन,’ उनले भने, ‘नारायणीकै मेडिसिन विभागका ८ जना टोलीको काँधमा जिम्मेवारी थुपारिएको छ ।’
बुधबारसम्म पर्सामा १ हजार १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २ सय ४५ जना संक्रमित निको भएका छन् । हालसम्म २० जनाको मृत्यु भएको छ । ८ सय ९७ जना सक्रिय संक्रमितमध्ये १ सय ६७ लाई मात्र कोरोना अस्पतालमा भर्ना गरिएको छ ।
कान्तिपुर दैनिकमा यो खबर भुषण यादवले लेख्नुभएको छ ।