वीरगञ्ज २८ श्रावण । पछिल्लो दुई सातादेखि वीरगञ्जका अस्पतालको ढोकामा पुगेर पनि उपचार नपाई करीब पाँचजनाको ज्यान गएपछि घटना सम्बन्धमा नेपाल मेडिकल काउन्सिलले छानबीन थालेको छ ।
अस्पतालहरूको नियामक निकाय काउन्सिलले छानबीनको प्रक्रिया अगाडि बढाइएको काउन्सिलका श्रेस्तेदार डा कृष्ण अधिकारीले बताएका छन् । वीरगञ्जमा भएको पाँचजनाको मृत्युको सम्बन्धमा लापरवाही गरेका अस्पतालको बारेमा छानबीन शुरू गरिएको हो ।
वीरगञ्ज–२ छपकैयाकी २० वर्षीया विष्णु लामा, वीरगञ्ज–११ का चलितर महतो, वीरगञ्ज–१३ राधेमाईकी शारदा देवी, वीरगञ्ज–३ छपकैयाका जोखु साह सोनार, वीरगञ्ज–६ माईस्थानका राजेश्वरप्रसाद गुप्तालगायतको मृत्युको सवालमा काउन्सिलले छानबीन प्रक्रिया अघि बढाएको डा. अधिकारीले बताए ।
पछिल्लो समय वीरगञ्जका सरकारी तथा निजी अस्पतालले आकस्मिकरूपमा पुग्ने बिरामीलाई भर्ना गर्न मानेनन्, कतिपय अस्पतालले पिसिआर रिपोर्ट आए मात्रै उपचार गर्ने अड्को थापेर समयमा उपचार नगर्दा बिरामीको ज्यान गएको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भइरहेको छ । काउन्सिलका श्रेस्तेदार डा. अधिकारीले भने, “कसको दोष छ, पत्ता लगाइ आवश्यक कारबाहीका लागि सिफारिश गर्न छानबीन शुरू गरेका छौं ।”
उनले वीरगञ्जको नारायणी अस्पताल, एडभान्स हस्पिटल, नेशनल मेडिकल कलेज, नारायणी वयोधा, वीरगञ्ज हेल्थकेयर अस्पताल र गण्डक अस्पताललाई सोमवार पत्राचार गरेर स्पष्टीकरण सोधिएको बताए । चित्तबुझ्दो जवाफ नआए सम्बन्धित अस्पताल तथा सञ्चालकलाई कानूनी कारबाहीको लागि नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रतिवेदन बुझाइने काउन्सिलका श्रेष्तेदार डा. अधिकारीले जानकारी गराए ।
यता प्रदेश २ सरकारको प्रतिनिधिमण्डलले कोरोना रोकथामका लागि सङ्घीय राजधानी काठमाडौं पुगेर सङ्घीय सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दीको नेतृत्वमा गएको टोलीले सङ्घीय सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वरराय यादवस“ग भेट गर्दै प्रदेशमा फैलिरहेको कोरोना महामारीको अवस्थाबारे ध्यानाकर्षण गराएको हो ।
प्रदेश २ कोरोना भाइरसबाट अति प्रभावित रहेकोले प्रहरी प्रशासनलाई चुस्त दुरुस्तरूपमा परिचालन गरी सीमा क्षेत्रमा थप कडाइ गराउन आग्रह गर्दै प्रदेशका गम्भीर प्रकृतिका बिरामीलाई तत्काल काठमाडौं पु¥याउन एयर एम्बुलेन्स वा हेलिकप्टर तयारी अवस्थामा राख्न मुख्यमन्त्री गद्दीले सङ्घीय उपप्रधान तथा रक्षामन्त्री पोखरेलसग आग्रह गरे । उनले प्रदेशमा विज्ञसहितको चिकित्सक टोली तत्काल पठाउन माग गर्दै प्रदेशका सबै निजी अस्पतालमा कम्तीमा २० प्रतिशत आइसोलेशन शøया सञ्चालन गराउन सुझाएका छन् ।
मुख्यमन्त्री गद्दीको कुरा सुनेपछि उपप्रधानमन्त्री पोखरेलले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा कोभिड उपचारका लागि ५ सय श्यायको आइसोलेशन वार्ड तुरुन्त व्यवस्थापन गर्ने, तत्काल ५० हजार भिटिएम रिएजेन्ट किट प्रदेश २ लाई उपलब्ध गराउने र छिटो पिसिआर परीक्षणका लागि दुईवटा आरएनए मेशिन उपलब्ध गराउने तयारी भइरहेको बताएको प्रतिनिधिमण्डलका सहभागीहरूले जानकारी गराएका छन् ।
सो अवसरमा स्थानीय आवश्यकता र जनभावनालाई कदर गर्दै वीरगञ्जस्थित नारायणी केन्द्रीय अस्पताललाई जेनरल अस्पतालकै रूपमा सञ्चालन गर्ने, बिरामी भर्ना एवं उपचारमा लापरवाही गर्ने निजी अस्पतालहरूलाई छानबीन गरी कारबाही गर्ने विषयमा मुख्यमन्त्रीको टोली र उपप्रधानमन्त्रीबीच सहमति जुटेको मुख्यमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
सङ्घीय मन्त्रीहरूस“गको भेटघाटपछि मुख्यमन्त्री गद्दीले सोमवार सञ्चारकर्मीसग कुरा गर्दै अस्पतालको ढोका चहार्दा चहार्दै बिरामीको मृत्यु हुने अवस्था रहनु मुलुकको ऐन कानून र मानवीय समवेदनाहीनताको पराकाष्ठा भन्दै दोषी देखिएका त्यस्ता स्वास्थ्य संस्थाहरूको लाइसेन्स नै खारेज गर्नुपर्ने माग राखेका छन् ।
उनले गैरजिम्मेवार स्वास्थ्य संस्था एवं चिकित्सकहरू प्रदेश मातहतमा आएमा उनीहरूको लाइसेन्स खारेज गरेर प्रचलित ऐन कानून अनुसार कारबाई गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री गद्दी नेतृत्वको टोलीमा प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालगायतको सहभागिता थियो ।