×

आशुकुमार सर्राफ/ वीरगञ्ज २७ श्रावन । उपचारको लागि अस्पतालको चक्कर काट्दा काट्दै वीरगञ्जमा एक ९ वर्षीय बालकको मृत्यु भएको छ । बाराको बारागढी गाउँपालिका–२ सुखीपत्रा निवासी ९ वर्षीय बालक सुशीलकुमार साहको मंगलबार बिहान वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको मृत्यु भएको हो ।

विगत ३/४ दिनदेखि सामान्य ज्वरो, झाडापखाला र बान्ताले सिकिस्त सुशीललाई लिएर आइतबार राति ४ बजे तिर उनका बुवा वीरगञ्ज पुगे तर वीरगञ्जका विभिन्न ५ वटा अस्पतालको चक्कर काट्दा पनि कसैले उनलाई भर्ना गरेन । रातभर विभिन्न अस्पतालको चक्कर काटेपछि अन्तत: सोमबार प्रहरीको सहयोगमा सुशीललाई नेसनल मेडिकल कलेजमा भर्ना गरियो ।

'हामीले बाबुलाई लिएर कहाँ-कहाँ गएनौँ, रातभरि वीरगञ्जको हरेक हस्पिटलको चक्कर काट्यौं तर कसैले हाम्रो सुशीललाई भर्ना लिएन,' मृतक बालकका भिनाजु पर्ने उपेन्द्र साहले भने, 'सोमबार बिहान एसपी मेडमले फोन गरेपछि सुशीललाई नेसनल मेडिकल कलेजले भर्ना लियो तर उपचार गरेन, त्यस्तै छोडीदियो, उपचार नपाएर हाम्रो बाबु मर्‍यो ।'

बालकलाई भर्ना गरेरपनि उचित उपचार नगरिएको परिवारजनको आरोप छ । नेसनल मेडिकल कलेजमा बालकलाई भर्ना गरिएको धेरै समयसम्म पनि उपचारका लागि कुनै चिकित्सक नआएको उपेन्द्रले बताए । 'नेसनलमा भर्ना गरेरपनि हाम्रो बाबुलाई रामरी हेर्न कोहि आएन, एक चोटी आएर औषधि लेखिदिए त्यसपछि सोध्धा पनि सोधेनन, एउटा छुट्टै कोठामा अक्सिजन मात्र लगाएर त्यस्तिकै छोडीदिएका थिए,' उपेन्द्रले भने ।

झाडापखाला र बान्ताले गाह्रो भएपछि आइतबार बिहान सुशीलका बुवा उमेश साहले उनलाई ज्वाई उपेन्द्र साहसँग सुरुमा नेसनल मेडिकल कलेज लिएर गएका थिए तर त्यहाँ आइसीयु कक्ष खाली नभएको भन्दै त्यहाँका चीकित्सकले उनलाई तराई हस्पिटल जान सल्लहा दिए ।

‘सुशीललाई नेसनलमै छाडेर मोटरसाइकल लिएर तराई पुगें,’ उपेन्द्रले भने, ‘त्यहाँ पनि बेड खाली छैन् भनेर जवाफ फर्काइयो ।’ त्यसपछि सुशीललाई लिएर उनीहरु पानिटंकीस्थित एलएस नियुरो अस्पताल पुगे, त्यहाँ उनीहरुसँग अस्पतालले भर्ना गर्नु पुर्वनै १० हजार रुपैयाँ एडभान्स लियो तर पछि आइसीयुमा भर्ना गर्ने बेला बेड खाली छैन भन्दै उनीहरुलाई फिर्ता पठाईदियो । उनीहरु अनि लिंकरोडमा रहेको भवानी हस्पिटल गए, त्यहाँपनि त्यही जवाफ पाए, 'आइसीयुमा बेड खालि छैन ।’

कुनैपनि अस्पतालले भर्ना गर्न नमानेपछि शशिरका बुवा र भिनाजु सोमबार बिहान ७ बजेतिर घण्टाघर चोकमा पुगेका थिए । त्यहाँ रहेका प्रहरीले उनीहरुलाई नारायणी लैजान सुझाव दिए तर नारायणीमा पनि चिकित्सकहरुले आइसीयुमा भर्ना गर्नुपर्छ भनेर फिर्ता पठाई दिए । नारायणी अस्पतालको इमर्जेन्सी बाहेकका सेवाहरु बन्द छन् ।

सबैतिरबाट थाकी सकेका उपेन्द्रले पर्साकी प्रहरी प्रमुख गंगा पन्तलाई फोन लगाए । पन्तले उनलाई बालकलाई लिएर नेसनल मेडिकल कलेज जान भनिन । 'एसपी मेडमले हामीलाई बाबुलाई लिएर नेसनल मेडिकल कलेज जान भन्नुभयो, हामीले त्यहाँबाट आफुहरुलाई फिर्ता पठाईएको भन्दा उहाँले म कुरा गरिदिन्छु तपाईंहरु बच्चालाई लिएर जानुस भनेर एसपी मेडमले भन्नुभयो,' उपेन्द्रले भने ।

बिहान फेरि ९ बजे सुशीललाई लिएर दोस्रो पटक मेडिकल कलेज पुग्दा यस पटक उनलाई भर्ना गरियो । तर त्यहाँ भर्ना मात्र गरे आइसीयुमा नराखेर सुशीललाई अन्तै एउटा कोठामा अक्सिजन चढाएर राखिदिएको उपेन्द्रले बताए । ‘नाकमा अक्सिजनको पाइप लगाएर एउटा कोठामा राखिदिए । त्यसपछि कोहीपनि डाक्टर चेकजाँच गर्न आएन,' उनले भने, ‘हाम्रो बच्चालाई नाम मात्रको लागी भर्ना गरिएको थियो ।’

मेडिकल कलेजका स्वास्थ्यकर्मीले बच्चाको कोरोना परिक्षण गराउनु पर्ने बताउँदै उनलाई नारायणी जान भने । 'सुरुमा त् कोहि आएन, पछि एक जना स्टाफ आए अनि कोरोना परिक्षण गराएर ल्याउनुस अनि मात्र उपचार हुन्छ भने,' उपेन्द्रले भने, 'अनि त्यहाँबाट फेरी एम्बुलेन्स भाडा गरेर हामी नारायणी पुग्यौँ, अनि त्यहाँ उसको स्वाब जम्मा गराएर आयौं ।'

कलेजले विरामी उपचारका लागि आफुहरुसँग दुई सेट पीपीइ सेट समेत खरिद गर्न लागेको उनले बताए । 'पीपीई किनेर ल्याउनुस भनेर एक जना स्टाफले हामीलाई आएर भन्यो, हामीले काहाँ पाइन्छ भनेर सोध्दा जानुस न यतै पाई हाल्छ भनेर जवाफ पायौं, अनी किनेर ल्याएपछि एकैचोटी राति ८ बजे तिर बाबुलाई हेर्न एकजना डाक्टर र आएर केहि औषधि लेखेर गए,' उपेन्द्रले सुनाए ।

मंगलबार बिहान पिसिआर रिपोर्ट लिन नारायणी पुगेको बेला सुशीलको निधन भएको अस्पतालले परिवारलाई जानकारी दियो । 'हामीले धेरै कोशिस गर्‍यौं तर हाम्रो बाबुलाई बचाउँन सकेनौं, हाम्रो बाबु मरिहाल्यो,' रुँदै उपेन्द्रले भने, 'टाइममा जाँच भएको भए सायद हाम्रो बाबुलाई केहि हुन्थेन ।'

अस्पताल प्रशासनमा यस विषय बारे जानकारी लिन पटक-पटक फोन लगाउँदापनि फोन उठेन । सुशीलको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

Back to top