वीरगञ्ज १७ श्रावन । वीरगञ्जमा थप कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको मातहातमा रहेको गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा उपचाररत महिलाको शनिबार साँझ मृत्यु भएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा निवासी ६८ वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको छ । वीरगञ्जमा आज कोरोना सङ्क्रमणबाट यो दोस्रो मृत्यु पुष्टि भएको हो । यसअघि सोहि वडाकी अर्की एक महिलामा मृत्यु पछी कोरोना पुष्टि भएको थियो ।
विगत केहिदिनदेखि नारायणी वयोधा अस्पतालको आइसियु कक्षमा उपचाररत महिलामा कोरोना सङ्क्रमण पुष्टि आज साँझ मात्रै भएपछी उनलाई गण्डक कोभिड अस्पतालमा सिफ्ट गरिएको थियो ।
श्वासप्रश्वास समस्या देखिएको उहाँको स्वाब नारायणी अस्पतालको ल्याबमा पिसिआर मार्फत परिक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । उहाँको साँझ ६ बजे उपचारको क्रममा निधन भएको अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।
उहाँको शव गण्डक कोभिड अस्पतालमै राखिएको छ । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या ११ पुगेको छ ।