वीरगञ्ज १४ श्रावन । वीरगञ्जमा बुधबार दोस्रो व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचाररत एक ७३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
लामो समयदेखि मिर्गौला, दामा र छातीमा पानी जम्ने समस्याले ग्रसित वीरगञ्ज महानगरपालिका वडा नं. ६ माइस्थान पछाडी घर भएका पुरुषको बुधबार बिहान ३ बजेको करिवमा उपचारको क्रममा मृत्यु भएको नेसनल मेडिकल कलेजका निर्देशक डा. प्रमोद सर्राफले जानकारी दिए ।
वीरगञ्जस्थित नारायणी बयोधा हस्पिटलबाट रिफर गरी उपचारका लागी मङ्गलबार आएका ती पुरुषमा मृत्यु पछी कोरोना सङ्क्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको प्रयोगशालामा उनको पिसिआर प्रविधि मार्फत स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।
'मृत्यु भएका पुरुषलाई नेसनल मेडिकल कलेज ल्याउँदा उनको अवस्था निकै गम्भीर थियो, आरडीटि पनि पोजेटिभ आएको थियो,' डा. प्रमोद सर्राफले भने, 'पिसिआरको लागी स्वाब सङ्कलन गरेर गएपनी रिपोर्ट नआउँदा सङ्क्रमणको शङ्का लागेर हामीले उनलाई छुट्टै वार्डमा राखेर उपचार गर्दै थियौं, तर आज बिहान उपचार कै उनको निधन भयो ।'
डा. सर्राफले उनको उपचारको क्रममा अस्पतालका कर्मचारीहरुले पूर्ण सतर्कता अपनाएको भने, 'आरडीटि पोजेटिभ केश भएको कारण हामीले रिस्क लिएनौं, पूर्ण सतर्कता र सुरक्षा उपाए अपनाउँदै उनको उपचारमा लागेका थियौं ।
उनको मृत्युसँगै वीरगञ्जमा आज २ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । आजमात्र गण्डक अस्थायी अस्पताल वीरगञ्जमा उपचार गराई रहेका एक ६८ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
दुवै मृतकहरुको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको मेसु डा. उपाध्यायले बताए । पर्सामा हालसम्म एक भारतीय सहित ८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने सक्रिय सङ्क्रमितहरुको सङ्ख्या १ सय ६१ रहेको छ ।