×

वीरगञ्ज १३ श्रावन । गण्डक अस्थायी कोभिड अस्पताल वीरगञ्जमा ५० जना सङ्क्रमितहरु गम्भीर अवस्थामा रहेको समाचार गलत भएको अस्त्पालका चिकितिसकले बताएका छन् ।

विभिन्न सञ्चार माध्यममा वीरगञ्जमा उपचाररत ५० जना कोरोना सङ्क्रमितहरुको अवस्था गम्भीर भनेर आएको खबरमा कुनै सत्यता नभएको अस्पतालका इन्चार्ज एवम् वरिष्ठ चिकितिसक डा. उदय नारायण सिंहले बताए । उनले हाल २ कोरोना सङ्क्रमितको आइसीयु वार्डमा अक्सिजन सपोर्टमा राखेर उपचार चलिरहे पनि चिन्ता लिने कुनै अवस्था नरहेको बताए ।

उनले हाल गण्डक अस्थायी अस्पतालमा भर्ना भएका ६० सङ्क्रमितहरु मध्ये ३० जनामा मात्र लक्षण देखिएको जानकारी गराए ।

'५० जना भन्दा बढीको आवस्था गम्भीर भन्ने समाचारमा कुनै सत्यता छैन, २ जनालाई अक्सिजन सपोर्टमा राखेर आइसीयुमा उपचार गरिरहेका छौं,' डा. सिंहले भने, 'अहिले लक्षण देखिएका ३० जना जती बिरामी छन् बाकी ३० मा त् कुनै लक्षण पनि छैन ।'

डा. सिंहले हाल ५० भन्दा बढी कोरोना सङ्क्रमितहरुको सेल्फ आइसोलेसनमा उपचार चलिरहेको जनाए । उनले अस्पतालमा बेडको आभाव भएका कारण सङ्क्रमितहरुलाई भर्ना गर्न नसकिएको बताए ।

५० जना सेल्फ आइसोलेसनमा रहेपनि उनीहरु चिकित्सकको निरन्तर सम्पर्कमा रहेको डा. सिंहले भने । उनले छिट्टै सेल्फ आइसोलेसनमा रहेका र लक्षण नभएका सङ्क्रमितहरुलाई सिद्दार्थ माध्यमिक विद्यालयमा निर्माण भएको सेमी आइसोलेसनमा ल्याएर उपचार गरिने जानकारी दिए ।

'सेल्फ आइसोलेसनमा भएका सङ्क्रमितहरु मध्येमा पनि केहिलाई लक्षण देखिएको छ, डा. सिंहले यात्रा डेलीसँग भने, 'हामी उहाँहरुसँग सम्पर्कमा छौं र बाकी लक्षण नदिएका सङ्क्रमितहरुलाई प्रयोग गर्नुपर्ने औषधि, अपनाउँनु पर्ने सतर्कतालगायत बारे जानकारी गराईसकेका छौं । सिद्दार्थ माविमा निर्माण हुनलागेको सेमी आइसोलेसनमा लक्षण नभएका सङ्क्रमितहरुलाई सिफ्ट गरे उपचार सुरु गर्छौं ।'

सङ्क्रमित बढ्दै गए उपचारमा कठिनाई आउँने

गण्डक अस्थायी कोभिड अस्पतालका इन्चार्ज एवम् वरिष्ठ चिक्तिस्क डा. उदय नारायण सिंहले आगामी दिनमा सङ्क्रमितहरुको सङ्ख्या बढे उपचारमा समस्या आउँन सक्ने बताए ।

उनले सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गए अस्पतालसँग रहेका सिमित स्रोत, साधन र जनशक्ति प्रयाप्त नहुने जिकिर गर्दै सरकार र प्राशासनले यस विषय तर्फ ध्यान पुर्याउनु पर्ने सुझाव दिए ।

'गण्डक अस्पतालमा २ वटा भेन्टिलेटर छन्, एउटा थप नारायणीबाट ल्याएका छौं,' डा. सिंहले भने, 'अचानक गम्भीर किसिमका सङ्क्रमितहरु देखिन थाले उपचार गर्न हामीलाई समस्या हुनसक्छ । सरकार र प्रशासनको यसतर्फ ध्यान जान आवश्यक छ ।'

डा. सिंहले मास टेस्टिङसँगै सम्भावित सङ्क्रमितहरुको व्यवस्थापन पक्ष तिर ध्यान नगए आउँने दिनमा स्थिति भयावय हुनसक्ने चिन्ता व्यक्त गरे ।

Back to top