वीरगंज २१ असार । कोरोना महामारीको कारण नेपाल–भारत सरकारले गरेको सीमा सिलको कारण नेपाली उपभोक्ताहरु भारतीय सीमावर्ती रक्सौल बजार किनमेल गर्न जनादा रक्सौल बजार कारोबार सुकेको छ भने वीरगंजको बजार गुलजार हुँदै गएको छ ।
वीरगंज माईस्थानका व्यवसायी दिपक सर्राफका अनुसार सबै समानको तस्करी नियन्त्रणमा आएपछि किराना, खद्यान्न, कपडा, रेडिमेड, कस्मेटिकलगायत सबै प्रकारको स्वदेशी व्यापार राम्रो हुन थालेको बताएका छन् ।
‘कोरोना महामारीको कारण खरिद बिक्री कम भए तापनि जे बेचिरहेका छौं, नगदमै कारोबार हुन थालेको छ,’ वीरगंजका व्यवसायी दिपक सर्राफले भने, ‘पहिले उधारोमा समान बेच्न व्यवसायीले पसले तथा पार्टीलाई हारगुहार गर्नु पथ्र्यो, आज अवस्था फेरिएको छ ।’
कोरोना महामारीको कारण नेपाल–भारत सरकारले गरेको सीमा क्षेत्र सिल लक हुदाँ भारतीय रक्सौल बजारमा भोकमरी बढन थालेको रक्सौलका व्यवसायी ललित कुमार बताउछन् । यता वीरगंजको सीमावर्ती भारतीय बजार रक्सौलका व्यवसायीहरु सीमा क्षेत्रको सिलबन्दी खुलाउन आन्दोलन समेत गर्ने तयारी गरिरहेको पनि बुझिएको छ ।
‘सीमावर्ती भारतीय बजार नेपाली ग्राहककै आगमन र पैसाले चल्थ्यो, अहिले हामी ग्राहककै पर्खाईमै दिन बिताउने गरेको छौ,’रक्सौलका व्यवसायी ललित कुमारले भने,‘लामो समय यस्तै अवस्था रहयो भने रक्सौलका व्यवसायीहरु घरभाडा,बैंकको ब्याज तथा कर्मचारीको पैसा पनि तिर्न नसक्ने र पसल व्यवसायमा लागनी गरेको पैसा पनि डुब्ने जोखिम बढेको छ ।’
रक्सौल बजारमा करीब दुई सयको हारहारीमा कपडा पसल छन् भने दैनिक उपभोग्यका सामान बेच्ने किराना पसल ५० जति रहेको छ । ९० प्रतिशत नेपाली उपभोक्ताको कारण यहाँको दैनिक व्यापार रु १ करोडको हाराहारीमा हुने गरेको र नेपाल–भारत सरकारले गरेको सीमा सिलको कारण नेपाली उपभोक्ताहरु रक्सौल बजार किनमेल गर्न नजादा यहाँको व्यापारहरुलाई उच्च घाटा हुन थालिएको छ । रक्सौलका व्यापारी विजय साहको भनाइ छ ।