×

वीरगञ्ज २० असार । बाराको महागढीमाई नगरपालिकामा २०७६ सालका लागि पारित भएका कार्यक्रमहरु अहिले आएर धमाधम गरिदैंछ । बजेट पचाउन गत सालमै गरिसक्नु पर्ने विभिन्न कार्यक्रमहरु अहिले आएर पुरानै मिति राखेर गरिदैं गरेको पाइएको हो ।

सो नगरपालिकाले गैरसरकारी संघसंस्था मार्फत लक्षित वर्गको कार्यक्रम संचालन गर्न २०७६ सालमै कार्यक्रम पारित गरेकोमा अहिले भएको छ । जबकि, सामाजिक विकास मन्त्रालयले कोरोना कालमा कुनै पनि स्थानीय तहले लक्षित वर्गको कार्यक्रम संचालन नगर्न निर्देशन दिएको छ ।

सो नगरपालिकाको वडा नं. २ कार्यलयमा गत असार १९ गते दुई दिने सहकारीको कर्मचारी तथा पदाधिकारीको लागि तालिम संचालन गरेपछि बजेट पचाउने नयाँ जुक्तिको रहस्य बाहिर आएको हो । महागढीमाई नपाको सहयोग र ग्रामिण समाज अध्ययन केन्द्र कलैयाको आयोजनामा २५ जना सहकारीका सद्स्यहरुलाई समाजिक दुरी समेत कायमै नगरी कार्यक्रम संचालन गरिएको भेटिएको हो ।

आयोजक संस्थाको अध्यक्ष चन्द्रशेखर साह र वडा अध्यक्ष विरेन्द्र राउतको विशेष उपस्थितिमा कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रम सहभागी प्रत्येकलाई तीन÷तीन हजार रुपैंया भत्ता थमाएर तालिमको औपचारिकता मात्र पुरा गरिएको श्रोत बताउँछ । तालिम आयोजना नै नगरिएर भत्ता थमाउन मात्र सहभागीलाई बोलाइएको र बजेट स्वाहा बनाइएको छ ।

त्यसैगरी, महागढीमाई नगरपालिकाले अहिले नै न्यायिक समितिको लागि कानुन सम्बन्धी कार्यक्रम संचालन गरेको छ । कलैया उपमहानगरपालिका अन्तर्गत रहेको ग्रामिण सामुदायिक केन्द्र नाम गरेको संस्थासँग ५ लाखको सम्झौता गरी कार्यक्रम भने एक दिनमै सम्पन्न गरी बजेट झ्वाम पारिएको छ । महागढीमाई नपा वडा नं. ३ स्थित कार्यालयमा न्यायिक समितीको संयोजक तारा देवी कानु र वडा अध्यक्ष उपेन्द्र जैसवालको मिलोमतोमा कानुन सम्बन्धी कार्यक्रम संचालन गरेर रकम दुरुपयोग गरेको स्थानीयहरुले बताएका छन् ।

ब्यानरमा उल्लेख भएको मिति र तिथिले नै संगठित रुपमा गरिएको बजेट पचाउने नयाँ जुक्तिको पुष्टि गरेको छ । सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विजय प्रसाद कुशवाहाले आयोजना भएका कार्यक्रमहरु आफु भन्दा अघिका अधिकृतको कार्यकालमा सम्झौता गरिएको बताए । उनले अहिले नयाँ कुनै पनि कार्यक्रम पारित नभएको र पहिले नै सम्झौता गरिएको कार्यक्रम भएको बताए । वडा नं. २ र ३ मा भएका कार्यक्रमहरु पहिले सम्झौता गरिएको र कोरोनाका कारणले प्रभावित भएर रोकिएकोमा अहिले आयोजना भएको बताए ।

यस विषयमा सो नगरपालिकाका मेयर उपेन्द्र यादवले भने अनभिज्ञता प्रकट गरे । तर नेपाल सरकारले लगाएको लक डाउनमा पनि नगर प्रमुख उपेन्द्र यादवकै निर्देशनमा बजेट बाँडीचुडी पचाउन कोरोना कालमै कार्यक्रम संचालन गरि रकम दुरुपयोग गरेको स्थानीयहरुले आरोप लगाएका छन् । मेयर यादवले आफ्नो निकट रहेको एक संस्था मार्फत ती कार्यक्रमहरु सम्पन्न गराएका हुन् ।

Back to top