वीरगंज २० असार । गत चैत ११ गतेदेखि नेपालमा शुरु भएको लकडाउनको कारण वीरगंजका होटल व्यवसायीहरुले ५० करोड भन्दा बढी गुमेको छ ।
कोरोना महामारीका कारण गत चैत ११ गतेदेखि नेपालमा शुरु भएको लकडाउनको कारण र अहिले पनि लकडाउन खुकुलो भइसक्दा पनि होटल व्यवसाय सञ्चालनमा आउन नसक्दा वीरगंजका ५० भन्दा बढी होटलहरुलाई ५० करोडको हाराहारीमा व्यवसाय गुमेको होटल व्यवसायीहरुको भनाई छ ।
वीरगंजमा चार तारे लर्डस प्लाजा दियालो,होटल भिस्वा,पूजन,कन्ट्री इन्, कैलाश, क्लासिक, अन्नपूर्ण, ओम रेजिडेन्सी, सुरज, सगुन, लुम्बिनी, विजयज्योति,पशुपति आनन्दलगायत होटलहरु सञ्चालनमा छन् । वीरगंजका होटल व्यवसाय धरापमा पर्दा एक हजार भन्दा बढि जनाको रोजगारी जोखिममा परेको छ ।
होटल तथा पर्यटन व्यवसायी संघ पर्सा वीरगंजका अध्यक्ष हरि पन्तका अनुसार वीरगंजमा साना, मझौला र ठूलो गरी करिब ५० भन्दा बढि होटल सञ्चालनमा रहेकोमा छ । पछिल्लो १ सय १ दिनको लकडाउनले कम्तिमा ५० करोडको क्षति पुग्नुका साथै घर भाडा, घर बहाल कर, कर्मचारीहरको तलब भत्ता, विजुली, पानी, इन्टरनेटको शुल्कलगायत रकमको करोडौंको आर्थिक भार पनि थपिएको पन्तले बताए।
वीरगंजका ५० वटै होटलहरुले एक दिनमा ५० लाख भन्दा बढीको कारोबार गर्दै आएकोमा सय दिनको औसत व्यवसाय ५० करोडको गुमेको उनले स्पष्ट पारे । होटल व्यवसायीहरुले स्थानीय सरकारसँग चाँडै होटलहरु खुला गरिदिन माग समेत राखेका छन् । उचित सतर्कता र प्रबन्ध मिलाएर होटल व्यसाय सञ्चालन गर्ने र होटल व्यवसायमा परेको असर बारे सरकारले आवश्यक सुविधा पनि उपलब्ध गराउनु पर्ने व्यवसायीहरुको माग छ ।