×

वीरगञ्ज १६ असार । सूचीमै नभएका विषय विशेषज्ञ शिक्षक छनौट समितिमा राखेर वीरगञ्ज वडा नं. १२ स्थित सुरजी देवी माविका प्रधानाध्यापक नविन मिश्राले तीन जनालाई नियुक्ति दिलाएका छन् ।

शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम ९६ क को १ खण्ड (ग) अनुसार शिक्षक छनौट समिति गठन गर्दा माध्यमिक तहको शिक्षक छनौट गर्नुपर्ने भएमा शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातकोत्तर र अन्य तहको शिक्षक छनौट गर्नुपर्नेमा भएमा शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको व्यक्तिहरुमध्येबाट उपलब्ध भएसम्म एक जना महिला समेतको प्रतिनिधित्व हुने गरी व्यवस्थापन समितिले मनोनित गरेको दुई जनालाई सदस्यलाई राख्नुपर्ने हुन्छ ।

यस्तै, नियमावली कै ९६ क को ६ अनुसार उपनियम १ को खण्ड (ग) को प्रयोजनको लागि शिक्षा विकास तथा समन्वय इकाईले विशेषज्ञको सूची अद्यावधिक गरी राख्नुपर्नेछ र सोही सूचीमा रहेका विषय विशेषज्ञलाई मात्र छनौट समितिमा राख्न पाउने प्रावधान छ । तर, सुरजी देवी माविका प्रधानाध्यापक मिश्राले पहिले सेटिङ्ग मिलाईसकेका व्यक्तिलाई नियुक्त दिन आफु नजिकका सूचीमै नभएका व्यक्तिलाई छनौट समितिमा मनोनित गराएको पाइएको छ । त्रिजुद्ध माविका दुई शिक्षिका बन्दना झा र ममता सर्राफलाई प्रधानाध्यापक मिश्राले छनौट समितिमा मनोनित गरेका थिए ।

छनौट समितिमा मनोनित भएका शिक्षिकाद्धय शिक्षा विकास तथा समन्वय इकाईले अद्यावधिक गरेको विषय विशेषज्ञको सूचीमै छैनन् । इकाई पर्साका शाखा अधिकृत बृजकिशोर प्रसादले भने “दुवै जनाको नाम विषय विशेषज्ञको सूचीमा छैन ।” उनका अनुसार विषय विशेषज्ञ मनोनित गर्दा पनि गोप्य तरिकाले गर्नुपर्छ । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखले तोेकेर पठाएका अधिकृत स्तरका शिक्षक छनौट समितिका सदस्यले विद्यालय व्यवस्थापन समितिको रोहबरमा इकाईको सूचीमा रहेका विषय विशेषज्ञहरुमध्येबाट दुई जनालाई गोलाप्रथाद्धारा छनौट गर्नुपर्ने प्रावधान छ । शाखा अधिकृत बृजकिशोरले भने “यसरी विषय विशेषज्ञ छनौट गर्दा पनि परिक्षा हुनु एक/डेढ घण्टा अघि मात्र गर्नुपर्छ ।”

सुरजी देवी माविमा शिक्षक नियुक्ति गर्दा पाईला–पाईलामा शिक्षा नियमावलीको धज्जी उडाइएको छ । छनौट समितिमा ९६ (क) को १ को उपनियम ख अनुसार सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक वा जिल्ला शिक्षा अधिकारीले तोकेको अधिकृतलाई सदस्य राख्नुपर्छ । हाल विद्यालय निरीक्षक पद खारेज भइसकेकाले शिक्षक छनौट समितिमा अहिलेको शिक्षा विकास तथा समन्वय इकाईले तोकेको अधिकृतलाई सदस्यको रुपमा राख्नुपर्छ । सुरजी देवीमा यसको ठीक उल्टो आफुखुशी त्रिजुद्ध माविकै शिक्षिका मिरा प्रधानलाई सदस्यको रुपमा राखिएको पाइएको छ ।

यसैगरी, शिक्षा नियमावलीको ९६ (क) को ७ अनुसार शिक्षक छनौट समितिले शिक्षक सिफारिसका लागि लिइने परीक्षाको केन्द्र जिल्ला सदरमुकाम वा स्रोत केन्द्रमा राख्नु पर्ने हुन्छ । हाल श्रोत केन्द्रहरु खारेज भइसके पनि अन्य ठाउँमा परीक्षा गर्नुको साटो सुरजी देवी मै परीक्षा गराएर आवेदन दिएका सोही विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई मात्र उत्तीर्ण गराई नियुक्ति दिइएको छ ।

अर्कोतर्फ, उक्त विद्यालयले लिएको शिक्षक छनौटको लिखित परीक्षाको नतिजा २०७६ साल माघ २३ गते निकालेको छ । सोही सूचनामा मौखिक परीक्षाको सूचना माघ २४ गतेको दिन तोकिएको छ । तर, छनौट समितिमा मनोनित गरिएको एक विषय विशेषज्ञ भने सो अवधिमा कार्यरत विद्यालयबाट सुत्केरी बिदा लिएर बसेको खुलेको छ । विषय विशेषज्ञको रुपमा राखिएकी त्रिजुद्ध माविकी शिक्षिका बन्दना झा मंसिर २ गतेदेखि फागुन ११ गतेसम्मको लागि सुत्केरी बिदा लिएर छुट्टीमा बसेको त्रिजुद्धका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुमीले पुष्टि गरे ।

सुत्केरी बिदामा बसेको व्यक्ति छनौट समितिमा बस्न पाउँछ कि पाउदैन? शिक्षा विकास तथा समन्वय इकाईमा प्रमुख फत्त बहादुर श्रेष्ठसँग सोध्दा उनले भने “के गर्न पाइन्छ र के पाइदैन भन्दा पनि, शारिरीक रुपमा अस्वस्थ्य भएर विद्यालय आउन नसक्ने भएर नै सुत्केरी बिदा दिइएको हो, सामान्य अवस्था थियो भने त बिदा किन लिनुपथ्र्यो र? पढाउन आउन चाहिं गाह्रो हुने र छनौट समितिमा गएर कार्य गर्न चाहिं सजिलो हुने हो र?”

वीरगञ्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले छानबिन गरेर नियमानुसार नियुक्ति गरिएको दाबी गरे पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र कर्णकै मिलोमतोमा नियम मिचेर नियुक्ति दिलाएको देखिन्छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले यस विषयमा पहिले उजुरी परेको भन्दै अहिले यदि नियम मिचेर नियुक्ति दिएको देखिए खारेज पनि गर्न सकिने प्रतिक्रिया दिए ।

Back to top